TagaroNews
७.५ मेगावाट मिदिम खोला हाइड्रो राष्ट्रिय प्रणालीमा
आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै सामुहिक तस्बिरमा कर्मचारीहरु ।

लमजुङ – लमजुङमा निर्माण सम्पन्न ७.५ मेगावाटको मिदिम खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट फागुन १६ गतेदेखि विद्युत् उत्पादन सुरु भएको हो ।

उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको छ । प्रवर्द्धक कम्पनीले आयोजनाको स्वीचयार्डदेखि सबस्टेसनसम्मको २६ किलोमिटर ३३ केभी प्रसारण लाइन आफैँले निर्माण गरेको छ ।

गत पुस २४ देखि २८ गतेसम्म ‘ड्राई टेस्ट’ गरेको आयोजनाले सो पश्चात् संरचनामा पानी भरेर ‘वेट टेष्ट’ गरेको थियो । आयोजनाको बाँधबाट ३.७३५ किलोमिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानी विद्युत्गृहमा खसाली बिजुली उत्पादन गरिएको छ । जसबाट वार्षिक ४२.२५ गिगावाट घन्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । 

विद्युत् विकास विभागबाट २०७६ भदौ २६ गते उत्पादन अनुमतिपत्र पाएको आयोजनाको निर्माण २०७७ सालदेखि सुरु भएको थियो । विचमा कोरोना महामारी, बाढी पहिरो लगाएतका कारण निर्माण कार्य प्रभावित हुँदा उत्पादन तालिका लम्विएको हो ।  

१ अर्ब ४४ करोड रुपैयाँ लागत अुनमान गरिएको आयोजनामा कुमारी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी, २५ प्रतिशत स्वँपूजी लगानी छ ।

आयोजनाबाट विद्युत् उत्पादनसँगै यसको सञ्चालनको जिम्मेवारी जेड इन्फ्रा प्रालिले पाएको छ । प्रवर्द्धक कम्पनी र जेड इन्फ्राबीच ५ वर्षसम्म सञ्चालन तथा मर्मत सम्भार गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update