
लमजुङ – डुम्रे बेसीशहर सडक खण्ड अन्तर्गत लमजुङ सिमा पाउँदी देखी सदरमुकाम बेसीशहर सम्मको मुख्य सडक थप बिस्तार गरी फराकिलो बनाइने भएको छ । सडकको केन्द्र बिन्दुबाट दाँया-बायाँ १०/१० मिटर कायम गरि फराकिलो बनाइने सडक विभाग अन्तर्गत डुम्रे-बेसीशहर-चामे सडक योजनाले जनाएको छ ।
नेपाल सरकारले जिल्ला सडकको केन्द्र बिन्दुबाट दायाँ-बायाँ १०/१० मिटर सडक सिमा नेपाल राजपत्र भाग ३ मा मिति २०३४ साल असार २० मा नै प्रकाशित गरेको छ ।
केन्द्रिय परिपत्र अनुसार डुम्रे–बेसीशहर–चामे सडक योजनाले बिहिबार मालपोत कार्यालय लमजुङलाई पत्र लेख्दै सडकको लगत कट्टा गरी जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउन भनेको छ ।
सडक सिमा तोकिएको क्षेत्रको जग्गा धनी पूर्जा सडकको पाउँदी देखी बेसीशहर सडक खण्डको दायाँ-बायाँ १०/१० मिटर कित्ता काट गरी डुम्रे–बेसीशहर–चामे सडक योजनाको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन सडक योजनाले कर्मचारी समेत खटाइसकेको योजना प्रमुख ई.रविन्द्रलाल दासले बताए ।
सडक योजनाले मालपोत कार्यालय लमजुङलाई लेखेको पत्र ।
सडक योजनाले जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, सुन्दरबजार र बेसीशहर नगरपालिकालाई समेत पत्रको बोधार्थ पठाइसकेको छ ।
यस सडकखण्डमा दैनिक हजारौँ सवारी साधनहरु ओहोरदोहोर गर्दछन् । तर, सडकको उचित मर्मत र विस्तार नहुँदा यात्रुहरु निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।अन्नपूर्ण पदमार्ग प्रवेशद्वारसमेत रहेको यस जिल्लाको सदरमुकाम बेसीशहरको सडक त झन, साघुरो र अस्तव्यवस्त बन्दै गएको छ ।
सवारीको बढ्दो चाप र सडक साघुरो र अस्तव्यवस्त हुँदा आन्तरिक तथा विदेशी पर्यटक, सवारी चालक, यात्रुदेखि स्थानीयवासीले बढी सास्ती खेप्दै आएका छन् । यस सडक मापदण्ड अनुरुप तत्काल विस्तार हुन सके धेरै राहत पुग्ने देखिन्छ ।