
सुन्दरबजार – लमजुङमा भोटेवडारमा एकैरात ६ घरमा चोरी भएको छ । सुन्दरबजार नगरपालिका–९ भोटेवडार स्थित बगैँचामा शनिबार राति स्थानीयको सुनसहित नगद चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय भोेटेवडार नजिक रहेको बजारको एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।
रातको करिब १२ बजेको समयमा स्थानीय गोविन्द पाण्डेको घरबाट ११ तोला सुन र पुरानो पैसा चोरी भएको छ । यस्तै गोबिन्द तिवारीको कपडा पसलबाट करिब १६ हजार नगद र सिसि क्यामेरा चोरी भएको छ भने, सुर्य श्रेष्ठको हार्डवयर पसलबाट १० हजार रुपैँया चोरी भएको छ ।
यस्तै हरिराम श्रेष्ठको मिलको सामाग्री पसलबाट २५ सय रुपैँया, शम्भुलाल श्रेष्ठको मोवाइल पसलबाट १० हजार रुपैँया र मिन बहादुर बाँनियाको भाडा पसलबाट २५ सय रुपैँया चोरी भएको वडा अध्यक्ष मन गुरुङले बताए ।
सबै घर र पसलमा पछाडीबाट ढोका र ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाई छ । चोरी भएको स्थान वरपरको सिसी क्यामरामा हेर्दा एक अधवैंसे पुरूष अनुहारमा मुखुण्डो र रुमाल बाँधेर हिडिरहेको देखा पर्ने स्थानीय बताउँछन् ।
घटनाको सुक्ष्म अनुसन्धान र चोरीमा संलग्नको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए ।