TagaroNews
मनाङमा घर भत्किँदा एकको मृत्यु, ७ जनाको सकुशल उद्धार
सांकेतिक तस्बिर ।

मनाङ - हिमाली जिल्ला मनाङमा शनिबार एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय वीरबहादुर घले रहेका छन् । 

मनाङको ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । घर मर्मत गर्ने ९ जना कामदारमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ भने, एक जनालाई सामान्य चोट लागेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को भान्सा रहेको सो घरमा केहि दिनअघिको हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो । सो मर्मतका क्रममा घर भत्किएको र घलेको माटोले च्यापिएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए । 

माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

मृतक घलेको शव पोष्टमार्टमका लागि सदरमुकाम चामे स्थित जिल्ला अस्पताल पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । माटोले पुरिँदा एक जनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने, अन्यको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update