TagaroNews
कालिका सहकारी ठगी प्रकरणः मिलाएर अदालत छिर्ने, धरौटी बुझाएर छुट्ने

बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरको कालिका सहकारी ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएकाहरू धमाधम अदालत आउँदै धरौटी बुझाएर रिहा हुँदै गरेका छन् । 

ढिलो गरी गत माघ २९ गते जिल्ला अदालतमा उपस्थित भएका आशाकाजी श्रेष्ठ २ लाख ५० हजार रुपैँया धरौटीमा छुटे । मंसिर तेस्रो साता नै पक्राउ पुर्जी जारी भएपछि फरार सूचीमा परेका श्रेष्ठ झण्डै ३ महिनापछि आफैँ अदालत पुगेका हुन् । 

कालिकाको मुद्दामा श्रेष्ठ सहित हालसम्म ३२ जनालाई जिल्ला अदालत लमजुङले धरौटीमा छाड्न आदेश दिइसकेको छ । ३४ जनामा पक्राउ पुर्जी जारी भएकोमा २ जना अझै फरार सूचीमा छन् । फरार सूचीमा रहनेमा दिपक परियार र भुपति वाग्ले हुन् ।  

सहकारी ऐन कसुर अन्तर्गतको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले गत मंसिरमा सहकारीसम्बद्ध सुरुमा ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएका मध्ये साविक कालिका सहकारीका सञ्चालकद्धय मृगेन्द्र घिमिरे र उनकी श्रीमती विनिता अधिकारी घिमिरे फरार रहे ।

प्रहरीद्धारा मंसिर १० गते ६ जना सञ्चालक पक्राउ परे । पछि पुनः २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा १ जना मंसिर १७ गते पक्राउ परे । पक्राउ गरिएका ७ जना जनही ७ लाखदेखि १२ हजार रुपैयाँसम्म धरौटी रकम बुझाएर तारेखमा रिहा भएको जिल्ला अदालतले जनाएको छ ।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा चलाएका ३४ जनामध्ये प्रहरी हिरासतमा रहेका ७ जनाले गत पुष ५ गते बिहिबार अदालतमा ७२ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भए ।

अदालतको आदेशअनुसार सहकारीका अध्यक्ष शिवराम शिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, तत्कालीन कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलन शर्मा दनाई र संस्थाका प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया जनही १२ लाख रुपैयाँ धरौटी बुझाएर छुटे ।

यस्तै कालिका सहकारीका लेखापरीक्षक महेन्द्र शर्मा पौडेल १० लाख रुपैयाँ साथै सहकारीका सचिव कृष्ण केसी (कृष्णबहादुर खत्री ) र सदस्य हरिबाबु थापा जनही ७ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भए । 

यता फरार भनिएका तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मृगेन्द्र घिमिरे पुष अन्तिम साता पक्राउ परे । उनलाई ३० लाख रुपैयाँ धरौटीमा अदालतले छाडेको छ ।

सहकारी ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएका मृगेन्द्र सहित ८ जनालाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएपनि अन्य भने, आफु अनुकुल अदालत आउँदै धरौटी बुझाएर रिहा हुँदै गरेका छन् । 

फरार सुचिमा रहेका मध्ये आफु अनुकुल अदालत पुगेकी कालिका सहकारीको पूर्व प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष विनिता अधिकारी घिमिरे माघ तेस्रो साता १२ लाख ५० हजार रुपैँया धरौटी बुझाएर तारेखमा रिहा भइन् । 

यस्तै सोहि अनुकुल अदालत पुगेका सञ्चालक मध्यका तुलसी नारायण श्रेष्ठ ५ लाख, रमेश बहादुर अधिकारी २ लाख ५० हजार, रमेश बहादुर दनाई २ लाख ५० हजार, गोपाल बहादुर श्रेष्ठ २ लाख ५० हजार, विश्म्वर अर्याल ३ लाख ५० हजार, चिरिन्जिवि कुवँर ३ लाख, तुलानिधि दनाई ३ लाख ५० हजार र विमला भुजेल ३ लाख रुपैयाँ बुझाएर तारेखमा छुटे ।  

यस्तै नानिमाया अर्याल ४ लाख, टिकाराम वाग्ले २ लाख ५० हजार, प्रकाश खनिया २ लाख ५० हजार, सिता श्रेष्ठ ४ लाख, रमादेवी शर्मा २ लाख ५० हजार, लछिमादेवी घिमिरे खनाल २ लाख ५० हजार, घना दनाई खड्का ५ लाख र ध्रुव देव जोशी २ लाख ५० हजार रुपैँया धरौटी बुझाएर रिहा भए ।  

त्यस्तै शारदा खनिया ५ लाख, सुकराम दुलाल २ लाख ५० हजार, कुशुमराज बराल २ लाख ५० हजार, कमल प्रसाद गुरुङ २ लाख ५० हजार, काजिराम बस्नेत २ लाख ५० हजार र तैमाया गुरुङ २ लाख ५० हजार धरौटीमा छुटेको जिल्ला अदालतका सूचना अधिकारी (तहसिलदार) लेखनाथ पौडेलले बताए । हालसम्म १ करोड ८५ लाख ५० हजार रुपैँया धरौटी बुझाएर उनीहरु तारेखमा छुटेका हुन् ।

अदालत स्रोतका अनुसार सहकारी रकम अपचलनमा मुछिएकाहरू वकिल र न्यायाधिशहरुसँग निरन्तर सम्पर्कमा छन् । अनुकूल वातावरण बनेपछि अदालतमा आफैँ हाजिर हुने र धरौटी बुझाएर छुट्ने गरेका हुन् । 

सहकारी सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेकोले निजहरु उपर कारबाही गर्न ४५ बढी बचतकर्ताहरुले 'सहकारी ठगी' शिर्षकमा प्रहरीमा जाहेरी दिएका थिए । 

२०५६ मंसिर ६ गते डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता गरेर सञ्चालनमा रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ०७७ असार १ गते साविकको सम्पदा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई एकीकृत गरी कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट सञ्चालनमा आएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update