TagaroNews
लमजुङमा फागुन १३ देखि दादुरा–रुबेलाको खोप अभियान

बेसीशहर – लमजुङमा आउँदो फागुन १३ देखि २२ गतेसम्म दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिदैछ । स्वास्थ्य कार्यालय लमजुङले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । 

यस अभियान अन्तर्गत यसपटक जिल्लाका ९ हजार ८ सय १५ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय प्रमुख प्रविणकुमार खनालले बताए । नियमित खोप सञ्चालन हुने स्थान, विगतमा खोप अभियान सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्थागरी २ सय १७ वटा खोप केन्द्रबाट खोप प्रदान गरिने कार्यालयले जनाएको छ । 

यसपटक बेसीशहर नगरपालिका भित्रका २ हजार ३ सय ६२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । यस्तै सुन्दरबजार नगरपालिकाका १ हजार ६ सय ७ जना, मध्यनेपाल नगरपालिकाका १ हजार २ सय ८५ जना र राइनास नगरपालिकाका  १ हजार १ सय ९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

त्यस्तै मर्स्याङ्दी गाउँपालिकाका १ हजार २ सय ११ जना, दोर्दी गाउँपालिकाका १ हजार ९२ जना, दूधपोखरी गाउँपालिकाका ५ सय ७३ जना र क्व्होलासोथर गाउँपालिकाका ५ सय ७१ जना बालबालिकालाई खोप लगाइने छ । 

पहिलो चरणमा फागुन १३ गते बेसीशहर र सुन्दरबजार नगरपालिका साथै मर्स्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकामा खोप अभियान चल्नेछ । दोस्रो चरणमा फागुन २१ गते राइनास नगरपालिका र क्व्होलासोथार गाउँपालिकामा अभियान सञ्चालन हुनेछ भने, तेस्रो चरणमा फागुन २२ गते मध्यनेपाल नगरपालिकामा अभियान सञ्चालन गर्ने कार्यतालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस अभियानमा ३ सय भन्दा बढी जनशक्ति परिचालन गरिनेछ । खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने छ । दादुरा–रुबेला भएका बेला ज्वरो तथा शरीरमा राता बिमिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुनेगर्छ ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । एचआईभी एड्सका लक्षण देखा परेमा, उच्च ज्वरो अथवा सिकिस्त बिरामी भएमा र उपचार सुरु नगरेका क्षयरोगका बिरामीले खोप लगाउन नहुने समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update