TagaroNews
राइनास नगरपालिकाका ३ वडामा  ‘कृषि नलेज पार्क’

राइनास – लमजुङको राइनास नगरपालिकाका ३ वटा वडामा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालनमा ल्याइएको छ । 

वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक तथा प्राविधिक सहयोगमा राइनास नगरपालिकाले सञ्चालन गरेको जलवायु अनुकुलन समाधान कार्यक्रम अन्तर्गत वडा नं. ४, ५ र ९ मा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालन गरिएको हो ।

राइनासको वडा नं. ४ अन्तर्गत सौभाग्यदय मावि, वडा नं. ५ स्थित बिरौटा टोल दलित बस्ती र वडा नं. ९ अन्तर्गत कुवापानी टोल राइनास कोटमा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालनमा आएको हो । 

राइनास नगरपालिका वडा नं ५ स्थित नलेज पार्क ।

विश्वमा बढ्दोे जलवायु परिवर्तनका असरहरु देखिरहेको सन्दर्भमा जलवायु अनुकल प्रविधिहरुको प्रदर्शनी गर्ने, विषादी न्यूनिकरण गर्नुका साथै नमुना गाउँ विकास गर्नको लागि सिकाई केन्द्र सञ्चालन गरिएको सिप्रेडका कृषि तथा जलवायु परिवर्तन प्राविधिक गोकुल नेपालले जानकारी दिए ।

प्राविधिक नेपालका अनुसार तीन स्थानमा रहेका ती ‘नलेज पार्क’ मा झोल मोल उत्पादनका साथै विभिन्न खालका मोहनी पासो, सिंचाई पोखरी, माटो निर्मलिकरण, टाडे नर्सरी, थोपा सिंचाई, मल्चिङ प्रविधि आदिको प्रदर्शनी हुन्छ । उनले भने, ‘उत्पादन बढी कसरी गर्ने, जलवायु परिवर्तनको असर कसरी घटाउने र विषादी न्युनिकरण कसरी गर्ने भन्ने कुरा ती नलेज पार्कमा सिकेर कृषकहरुले आफूले प्रयोग गर्छन् ।’ 

उत्पादन बढी लिन बिषादीको बढी प्रयोग गर्न नहुँने भन्दै वडा नं. ५ का कृषक युवराज मजाकोटीले नलेज पार्कमार्फत धेरै सिकाइ भएको बताए । उनले नलेज पार्क सञ्चालन अघि अन्धाधुन्ध विषादीको प्रयोग गर्ने गरिएको र स्वास्थ्यमा समेत असर गरेको भन्दै त्यसपछि ज्ञान, सीप जानेर व्यवस्थित रुपमा कृषि गर्न थालिएको जानकारी दिए ।

राइनास वडा नं ५ मा सञ्चालित कृषि सिकाई केन्द्र (नलेज पार्क) मा राइनास नगरपालिका प्रमुख खड्ग बहादुर गुरुङ, उप प्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, कार्यपालिका सदस्यहरु सहित प्राविधिक र कृषक समूहले निरिक्षण गरेका छन् । 

सो क्रममा कृषकहरुले विउ, झोल मल, भकारो सुधारको लागि नगरपालिकाले सहयोग गर्नुपर्ने माग राखेका थिए । यस्तै सिंचाई र माटो प्रयोगशालाको व्यवस्था गर्न समेत माग गरे । 

नगर प्रमुख गुरुङले कृषकहरुको मागहरु आए तत्काल सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै उत्पादन बढाउने र राइनासको पहिचान हुने गरी काम गर्न अनुरोध गरे । उत्पादन बृद्धि गर्ने कृषकलाई जहिले पनि प्रोत्साहन गर्ने भन्दै उनले सिकाई केन्द्रलाई बाँकी वडामा पनि विस्तार गर्ने बताए ।

पालिकामा आव ०७७/०७८ बाट सञ्चालित यस कार्यक्रममा वन तथा वातावरण मन्त्रालयबाट चालु आव ०८०/८१ सम्म करिब ६ करोड रुपैँया प्राप्त भएको छ । सो रकमबाट जलवायु अनुकुलन कार्यक्रममा सहयोग पुग्ने विभिन्न क्रियाकलापहरु सबै वडामा सञ्चालका लागी तयारी भएको नगरपालिकाले बताएको छ । 

मन्त्रालयले पनि यस कार्यक्रमको अनुगमन तथा निरिक्षण गर्दै आएको छ । चालु कार्यक्रम अन्तर्गत किवि खेती, मौरी पालन, पर्यटन प्रबद्र्धनका लागी साइकल ट्रेल, वातावरणमैत्री पार्क, बृक्षारोपण, सौर्य बत्ती, तटबन्धन, पानीको मुल संरक्षण, गोठ सुधार लगाएतका कार्य भएको नगरपालिकाले जनाएको छ । 

राइनास नगरपालिका ९ मा रहेको वातावरणमैत्री पार्क ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update