TagaroNews
गुप्तचर लमजुङ हाकिमको कर्तुतः नक्कली घर भाडा सम्झौता बनाएर रकम झ्वाम्

लमजुङ – राष्ट्रिय अनुसन्धान (गुप्तचर विभाग) जिल्ला कार्यालय लमजुङले नक्कली घर भाडा सम्झौता बनाएर रकम झ्वाम् पारेको तथ्य तगारो न्युजले फेला पारेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय लमजुङका प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँले आफ्नो कर्मचारीले कोठा भाडामा लिएर बसेको नक्कली सम्झौता बनाई रकम आफ्नो गोजीमा हालेको तथ्य बाहिरीको हो ।  

उनले बेसिशहर नगरपालिका –८ शेराकुना स्थित चन्द्र बहादुर अधिकारीको घर र राइनास नगरपालिका–४ सातविसे स्थित टस बहादुर गुरुङको घरमा आफ्नो कर्मचारी कोठा भाडामा बसेको नक्कली सम्झौता बनाई रकम झ्वाम पारेका हुन् । 

आर्थिक वर्ष २०८० साउन १ गते देखी ०८१ असार मसान्त सम्म नक्कली घर भाडा सम्झौता बनाइएको छ । प्रमुख बानियाँ जिल्लाबाट विभागमा सरुवा भईसकेका छन् । उनी सरुवा भई जाँदै गर्दा हतार–हतार आफ्नो कर्मचारी कोठा भाँडा लिएर बसेको नक्कली सझौता बनाई पुष महिनासम्मको ६४ हजार ८ सय रुपैँया आफ्नो गोजीमा हालेको तथ्य खुलेको हो । 

कसरी बनायो नक्कली सम्झौता ?
आव २०८० साउन १ गते देखी ०८१ असार मसान्त सम्म घर भाडा कायम रहने गरी बेसीशहर नगरपालिका–८ शेराकुना स्थित चन्द्र बहादुर अधिकारीको घरमा बसेको सम्झौता गरिएको छ । उक्त सझौतामा घरभाडा नियमअनुसार लाग्ने कर सहित मासिक ७ हजार कायम गरिएको छ । प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँले साउन देखि पुष सम्म ६ महिनाको भाडा एकमुष्ट भुक्तानी गरि ३७ हजार ८ सय रुपैँया आफैँले लिएका छन् ।

यता घरबेटी भनिएका चन्द्र बहादुर अधिकारीको घरमा अहिले सम्म राष्ट्रिय अनुसन्धानका कुनै पनि कर्मचारी बसेका छैनन् । यतिमात्र होइन प्रमुख अनुसन्धान अधिकृत बाँनियाले राइनास नगरपालिका–४ सातविसेमा रहेको टस बहादुर गुरुङको घरमा पनि कर सहित मासिक ५ हजार कायम हुने गरी गत साउन १ गते देखि आगामी असार मसान्त सम्मको लागि सम्झौता बनाएका छन् । 

साउन देखि पुष सम्म ६ महिनाको घर भाडा कागज पत्र मिलाएर २७ हजार रकम लिइसकेका छन् । यि दुवै सम्झौता हेर्दा मंसिर २१ गतेको मिति राखेर नक्कली सम्झौता पत्र बनाएको देखिन्छ ।

अनुसन्धान जिल्ला कार्यालयले बनाएको नक्कली घरभाडा सम्झौतापत्र । 

आफ्नो कर्मचारी भाडामा बस्दै नबसकेको घरमा घरधनी र प्रमुख बानियाँ मिलेर नक्कली सम्झौता गरी सो बापतको रकम आफ्नै गोजिमा हाल्न आफैले यसरी नक्कली सम्झौता बनाएको प्रष्ट हुन्छ । यो नक्कली सम्झौता पत्र बनाउन प्रमुख बानियाँले आफनो नजिकको एक कर्मचारी प्रयोग गरेको र घरधनीलाई समेत केहि रकम छुट्याएर सम्झौता गरेको प्रष्ट बुझ्न सकिन्छ । उनी करिब ९ महिनाअघि लमजुङ आएका थिए । 

घरधनीले पाउनुपर्ने रकम कसरी गयो हाकिमको गोजिमा ?
राष्ट्रिय अनुसन्धान कार्यालय लमजुङका प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँले चलाखीपूर्ण तरिकाले ती दुई घरधनीसँग घर भाडा सम्झौता गरे । सो पश्चात घरधनीको नाममा रकम भुक्तानी गरी घरधनीको बैँक खाता (घरधनी चन्द्रबहादुर अधिकारीको राष्ट्रिय वाणिज्य बैँक खाता नं. ३०४०१०००२४९४७०१० र घरधनी टस बहादुर गुरुङ सिटिजन्स बैँक खाता नं. ०८७०१०००००५१४०४५) मा रकम हालेको देखिन्छ । 

घरधनीको बैंक खातामा रकम हालेपछि सो रकम घरधनी र प्रमुख बानियाँ बिच भएको आन्तरिक सहमती अनुसार केहि रकम घरधनीलाई बुझाएर बाँकी रकम प्रमुख बानियाँले लिएको प्रष्ट बुझ्न सकिन्छ । 

यसबारे घरधनी चन्द्रबहादुर अधिकारीसँग कुरा गर्दा उनले भने, ‘करिब दुई महिनाजति भयो, दुई वटा कोठामा अनुसन्धानका कर्मचारीका लागी भनि चावी हालेर राखेको छु । तर, कर्मचारी बस्न भने आएका छैनन् ।’ तर, सम्झौता पत्रमा गत साउन १ गतेदेखी कर्मचारी बस्ने भनि सम्झौता भएको र पुष महिनासम्मको घरभाडा रकम भुत्तानी समेत भएकाले उनको कुरामा कुनै सत्यता देखिदैन् । जस्ले प्रष्ट हुन्छ कि यो नक्कली सम्झौता नै हो । 

अर्का घरधनी टस बहादुर गुरुङ भने, काम बिशेषले भारत रहेको पाइएको छ । गुरुङको घरमा बस्दै आएका एक कर्मचारी भने, गोरखा सरुवा भैसकेका छन् । तर, उनले आफैले निजि रुपमा घरभाडा तिर्दै आएका थिए । उनीमात्र होइन घर भाडामा बस्ने अन्य कर्मचारीहरुले आफैले निजि तलबबाट घरभाडा तिर्दै आएका छन् ।

प्रमुख बानियाँले घरधनीसँग घरभाडा सम्झौतापत्र, बैंकको खातामा हालेको रकम मिलाउनका लागि कार्यालयकै सुचक पदका एक कर्मचारीलाई खटाएको समेत पाइएको छ । उक्त कर्मचारीले सबै काम पुरा गरेपछि केही प्रतिशत रकम दिएर बाँकी भएको रकम प्रमुख आफैले लिएका छन् । 

यसबारे बुझ्न प्रमुख अनुसन्धान अधिकृत धिरज बानियाँलाई कार्यालय प्रमुखको नम्बर ९८५६०४७१११ मा गर्दा फोन अफ छ् भने, उनको निजि नम्बर ९८५१०९२८०७ मा पटक–पटक सम्पर्क गर्दा समेत फोन उठेन् । 

प्रमुख बानियाँ यसअघि रामेछाप जिल्लामा समेत यस्तै प्रकरणमा मुछिएका थिए । यतिमात्र होइन प्रमुख बानियाँले कार्यालयका विभिन्न मर्मत खर्चको नाममा लाखौँ रकम यसरी नै नक्कली बिल भरपाइ बनाएर रकम लिएको समेत खुल्न आएको छ । यसबारे हामी थप फलोअप गर्नेछौँ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update