TagaroNews
लमजुङे चेली सावित्राले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने 

लमजुङ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सर्वाधिक गोलकर्ता लमजुङे चेली सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन्।

युरोपको प्रतिष्ठित शीर्ष पाँच लिगमा पर्ने फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धन भएसँगै उनी ऐतिहासिक उपलब्धि प्राप्त गर्ने नेपाली महिला खेलाडी बनेकी छन्। उनले फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेको जानकारी दिइएकी छन्।

केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट ब्यबसायिक फुटबल खेलेकी थिइन्। तर युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन्। उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन्। उनी सोमबारनै फ्रान्स प्रस्थान गर्दै औपचारिक अनुबन्धनपछि उनले आफ्नो आवद्धता सार्वजानिक गरेकी हुन्।

सावित्राले ग्वेंगाम्पमा २८ नम्बर जर्सी प्रयोग गर्नेछिन्। क्लबले उनको अनुबन्धन घोषणा गरेसँगै अब शनिबार हुने लिग खेलमा उनको डेब्यु हुन सक्ने सम्भावना रहेको छ। अंक तालिकामा पछिल्लो क्रममा संघर्षरत ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ।

ग्वेंगाम्प लिगको १२ खेलमा २ जित, २ बराबरी र ८ हारका साथ ८ अंक जोड्दै दसौं स्थानमा छ। बोर्डोको १२ खेलमा ५ अंक छ। १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ।

फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ। ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छन्। 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update