TagaroNews
डीभी भिसामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने लमजुङकी युवती पक्राउ 

लमजुङ - प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित लमजुङकी एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको बेसीशहर नगरपालिका- ५ बस्ने २४ वर्षीया रोना गुरुङ रहेकी छन् ।  

प्रहरीका अनुसार उनलाई सन् २०२३ मा अमेरिकाको डीभी परेको थियो । तर, उनीसँग भिसा प्रक्रियाका चाहिने न्यूनतम शैक्षिक योग्यता थिएन । भिसा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको गोप्य सूचनाको आधारमा उनलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनी सहित अन्य १० जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले कक्षा १० र १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । सुरुमा प्रहरीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जनसहितको संलग्नता रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ललितपुर-१४ का महर्जन सहित अन्यमा धनुषाको सबैला–१२ का ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुरको मनहरी–९ की ३३ वर्षीया भगवती उप्रेती रहेका छन् ।

यसैगरी, चितवनको भरतपुर–१२ का २५ वर्षीय सुमन ढकाल, सिराहाको सिराहा–१ का २९ वर्षीय सक्षम अर्याल, सर्लाहीको लालबन्दी–४ का ३५ वर्षीय सुरज अधिकारी, दोलखाको चरिकोट–९ का २६ वर्षीय अशोक श्रेष्ठ, पर्साको वीरगञ्ज–१० का २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाहीको हरिवन–९ का २६ वर्षीय स्वर्णिम दाहाल पक्राउ परेका हुन् ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update