TagaroNews
मध्यरातमा लमजुङमा घर जल्यो, श्रीमान बाँचे, श्रीमतीको अवस्था अज्ञात
मध्यरातमा आगोलागी भएको श्रेष्ठको घर ।

लमजुङ – उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेको एक घरमा मध्यरातमा आगोलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । किराना र कपडा पसल सहितको राजेन्द्र श्रेष्ठको घरमा गएराती करिब १२ बजे आगोलागी भएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार ४५ बर्षिय राजेन्द्र श्रेष्ठ हाम फालेर बाँँच्न सफल भएका छन् भने, उनकी श्रीमती ४४ बर्षिय सन्तमाया श्रेष्ठको अवस्था अज्ञात छ । 

घट्नास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर थानेश्वर चपाईले पसलमा पेट्रोल, ग्यास सहितका सामाग्री भएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको बताए । उनले भने, ‘पसल सहितको घर पूर्ण रुपमा नष्ट भएको छ । फलामका पोलहरु गाडेर वाल लगाइ बनाएको घर रहेछ । सटर र टिनको छानो टिनले नै बारेकाले आगो नियन्त्रणमा आउन समय लाग्यो । आगो त प्रहरी र स्थानीयको सहयोगमा ३ बजेतिर नियन्त्रणमा ल्याइयो । तर, बत्ति नभएको र आगोको ठूलो राप अझै कायम रहेकाले सन्तमाया श्रेष्ठको अवस्था बुझ्न सकिएको छैन् । हामी प्रयासमा छौँ ।’ 

बेसीशहर नगरपालिका– २ घर भई बिगत करिब १८ बर्षदेखी स्याङ्गेमा व्यवसाय गर्दै आएका श्रेष्ठ दम्पती उक्त घरमै बस्दै आएको स्थानीय पदम गुरुङले बताए । यस घट्नाबारे अनुसन्धान भैरहेको र सबै विवरण भने, आउन बाँकी रहेको इन्पेक्टर चपाईले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update