TagaroNews
लमजुङको मर्स्याङ्दी क्याम्पसमा भएको भ्रष्टाचारबारे ‘अख्तियारको आँखा’

बेसीशहर – लमजुङको बेसीशहर स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसमा भ्रष्टाचार र अनियमिमता बढेको चर्चा र उजुरीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा क्याम्पसमा परेको छ । विभिन्न आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेकाले अख्तियारले छानविन अघि बढाएको हो । 

अख्तियारको कार्यालयको गत पुष ३ गतेको निर्णयअनुसार क्याम्पसको नाममा पत्र लेख्दै छानविन गर्नुपर्ने भएकाले ८ बुँदाको स्पष्ट प्रतिक्रिया सहित कागजातको प्रमाणपत्र १५ दिनभित्र उपलब्ध गराउन निर्देशन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यविधि, २०७८ को दफा २६ (१) (क) अनुसार निर्णय गर्दै क्याम्पससँग प्रतिक्रिया सहित प्रमाणित कागजात माग गरेको अख्तियारले जनाएको छ ।

अख्तियारमा क्याम्पसका प्रमुख हरिबाबु थापा समेतले ०६७ साल देखी विद्यार्थीबाट शुल्क उठाई ४ करोड रुपैँया बराबरको अनियमितता गरेको भन्दै उजुरी परेको छ । अजुरीको आधारमा अख्तियारले पत्र लेख्दै ०६७ साल देखीको विद्यार्थी शुल्क विवरण, शुल्कबापतको आम्दानीको दाखिला प्रमाण र प्रतिवेदन स्पष्ट बुझाउन माग गरेको छ ।

यतिमात्र होइन ०६६ सालमा स्नातकोत्तर तह संचालनका लागि लगाइएको महायज्ञ मार्फत भएको आम्दानी विवरण र उक्त रकम खुल्ने लेखापरिक्षण प्रतिवेदन उपलब्ध गराउन भनेको छ । सो महायज्ञमा १ करोड २५ लाख संकलन भएकोमा लेखापरिक्षण गर्दा ५ लाख मात्र देखाएको भनि उजुरी परेको अख्तियारले लेखेको पत्रमा प्रष्ट छ । 

क्याम्पस प्रमुख थापाले १२ महिनाको तलव र १ महिनाको दसैँ पेश्की भत्ता लिनुपर्नेमा १५ महिनाको तलब लिएको भन्ने उजुरी अख्तियारमा परेको छ । अख्तियारले बढी महिनाको तलब लिनुको स्पष्ट कारण मागेको छ । साथै उजुरी परेको भन्दै कक्षा ११ र १२ बाट समेत नियम विपरित पारिश्रमिक लिनुको कारण सोधेको छ । 

अख्तियारले बिगत १३ बर्ष देखी आन्तरिक लेखा परिक्षण भए नभएको सम्बन्धमा स्पष्ट प्रतिक्रियासँगै प्रशासकीय भवन निर्माणको लागत अनुमान, नापी किताब तथा भुक्तानी कागजातको प्रमाण मागेको छ । उजुरीकै आधारमा क्याम्पस गेट सम्म सडक निर्माणको आम्दानी खर्च, प्राध्यापक कर्मचारी कोषको रकम, ब्याज आम्दानी र स्टेटमेन्ट सहितको प्रमाण मागेको छ । यस्तै दुई स्थानमा लेखा प्रणाली सञ्चालन गर्नुको औचित्य सहितको प्रतिक्रिया सोधेको छ ।

अख्तियारले पठाएको पत्रबारे तगारो न्युजले क्याम्पस प्रमुख हरिबाबु थापालाई सोध्दा उनले भने, ‘अख्तियारले आफुलाई समेत एकप्रति पत्र पठाएको थियो । सो पत्रमा मागेको प्रतिक्रिया र प्रमाणबारे मैले गत पुष २२ गते आइतबार अख्तियारमै उपस्थित भएर प्रमाणसहित पेश गरेको छु ।’ अर्को प्रश्नको जवाफ दिँदै थापाले भने, “त्रिविको नियम र क्याम्पसको विधान अनुसार सबै क्याम्पस प्रमुखहरुले १५ महिनाको तबल लिने गर्छन् । त्यहि अनुसार मैले पनि लिएको हो । म विधान देखाउन तयार छु ।”

अख्तियारको पत्रबारे क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर अधिकारीसँग बुझ्दा उनी भन्छन्, ‘अख्तियारको पत्रबारे हामीले जवाफ पठाएकै छैन्, क्याम्पसको आन्तरिक किचलोको कारण केही ढिला भने भएको हो । अव हामी सञ्चालक समितिको बैठ्क बसेर छिटै प्रमाणसहित पठाउने तयारीमा छौँ ।’

यसबारे हामी थप फलोअप गर्नेछौँ ।

यस्तो छ अख्तियारले क्याम्पसलाई पठाएको पत्र :–

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update