
लमजुङ – रुस–युक्रेन युद्धमा परी लमजुङका एक युवाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा लमजुङको दुधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् ।
साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश उडेका थिए । खाडी मुलुक जान्छु भनेर हिँडेका साजन रुसी सेनामा भर्ति भएको जानकारी उनको परिवारले असोजमा मात्र थाहा पाएका थिए ।
रुस पुगेपछि रुसी सेनाको ड्रेस लगाएर खिचेको फोटो पठाएका साजन केहि समयपछि बेपत्ता भएका थिए । उनीबारे परिवारका सदस्यले कुनै सूचना नै पाएका थिएनन् ।
साजनका बुबा श्रीमान गुरुङका अनुसार युक्रेनको आक्रमणका परी साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका कान्छा छोरा कुमारले पाँच दिन अघिमात्र दिएका थिए । भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।
गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ । रुसी सेनामा अवैध तबरले छिर्ने र मृत्यु हुने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको पाइएको छ ।
आफ्ना नागरिकहरुलाई रुसी सेनाबाट फिर्ता गराउन नेपालले आग्रह गरेपनि रुसले त्यसबारे कुनै प्रतिक्रिया नै जनाएको छैन् ।