TagaroNews
लमजुङको सिउरुङमा बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै 

बेसीशहर – उत्तरी लमजुङको सिउरुङ गाउँमा यहि पुष २७ र २८ गते अर्थात शुक्रबार र शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङको शिलादेवी युवा क्लवको आयोजना, तगारो मिडिया प्रा.लिको समन्वय र चितवन मेडिकल कलेज (सिएमसी)को प्राविधिक सहकार्यमा हुन लागेको बृहत स्वास्थ्य शिविरमा बरिष्ठ स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएका छन् । 

शिविरमा श्वास प्रश्वास र दम सम्बन्धी बरिष्ठ डा. सित्तल अधिकारी, मुटुरोग सम्बन्धी बरिष्ठ डा.श्याम राज रेग्मी, बाल रोग बिशेषज्ञ डा. शान्ति रेग्मी, बरिष्ठ रेडियोलोजिष्ट डा. दिपक अधिकारी, जनरल सर्जन डा. विरेन्द्र रावत, हाडजोनी तथा नशारोग बिशेषज्ञ डा. देवेन्द्र आचार्य सहितको बिशेष टोलीले  सेवा दिने सिएमसीले जनाएको छ । 

शिविरमा पहिलो पटक मुटुको भिडियो इको, कार्डियोग्राफी, ईसिजि सेवा सञ्चालन हुँदैछ । यस्तै फोक्सोको पिएफटि, हाड जोर्नी तथा नशा, छाला साथै बाल रोगबारे जाँच गरिनेछ । त्यस्तै स्त्री रोग, श्वास प्रश्वासको समस्या, नाक, कान, घाटी सँगै दाँतबारे बिशेष चेकजाँच हुनेछ् । सुगर जाँच, आँखा जाँच र अन्य सबैको भिडियो एक्स रे सेवा सञ्चालन गरिने साथै सबै औषधी निशुल्क उपलब्ध गराइने सिएमसीले बताएको छ ।

स्वास्थ्यको पहुँचबाट टाढा रहेको यस गाउँमा बिशेषज्ञ सहितको समूहले बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेे भएपछि स्थानीय दंग छन् । शिविरमा सिएमसीका करिब ४० जनाको समूहले सेवा प्रदान गर्नेछन् । 

यहाँका नागरिकहरु समान्य देखि जटिल खालका स्वास्थ्य समस्याहरुबाट समेत ग्रसित रहेकाले शिविर सञ्चालन गर्न लागीएको क्लवका अध्यक्ष मनोज गुरुङले बताए । शिविरमा सिउरुङ गाउँसहित ननम्म्रो, कालाघिरिङ गैह्रीगाउँ, डाँडागाउँ, शिलढुङ्गा, छापा, मिप्रा, थाकन, ढगैं लगाएतका स्थानबाट करिब ६ सयको हाराहारीमा स्थानीय सहभागी हुने अपेक्षा राखेको अध्यक्ष गुरुङले जानकारी दिए । 

स्थानीय लताकुञ्ज आधारभुत विद्यालयमा दुई दिनसम्म सञ्चालन गरिने यस निशुल्क स्वास्थ्य शिविरको करिब ९५ प्रतिशत तयारी पुरा भएको क्लवले जनाएको छ  ।  

यहाँका नागरिक सामान्य स्वास्थ्य सेवा लिन पनि कोहि पैदल त कोहि ३ घण्टा लामो समय सवारी साधन मार्फत सदरमुकाम झर्नुपर्ने बाध्यता रहेको छ । यस शिविर मार्फत आफनो समस्या पहिल्याउन सके र उपचारको लाभ लिन सके स्थानीयलाई धेरै सहज हुने तगारो मिडिया प्रालिका अध्यक्ष निरज अधिकारीले बताए । उनले यस शिविरबाट लाभान्वित हुन सबैलाई आव्हान समेत गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update