TagaroNews
९.५ मेगावाट सुपर चेपेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा 
सुपर चेपे खोला जलविद्युत् आयोजनाको बाँधक्षेत्र ।

लमजुङ - लमजुङ र गोरखा सीमा भएर बग्ने चेपे खेलामा निर्माण सम्पन्न ९.५ मेगावाटको सुपर चेपे खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

रिज लाइन इनर्जी प्रालिले निर्माण गरेको यस आयोजनाको सिभिल संरचना तथा उपकरण जडान पूरा गरी आन्तरिक परीक्षणपछि पुस २१ गते शनिबार देखि प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणले तोकेको व्यापारिक उत्पादन मिति (सिओडी) भन्दा ५ महिनाअघि नै उत्पादन परीक्षण सुरु गरेको कम्पनीका इन्जिनियर प्रतिक आचार्यले बताए ।

प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार ०८० जेठभित्र विद्युत् उत्पादन थाल्नुपर्ने थियो । तर, कोभिड–१९ का कारण उत्पादन तालिका एकवर्ष ढिलो हुँदा ०८१ जेठमा पुगेको छ । उत्पादन तालिकाभन्दा ५ महिनाअघि नै आयोजनाको विद्युत् प्रणलीमा जोड्न सफल भएको आयोजनाले जनाएको छ । 

परीक्षण पूरा भएपछि माघ दोस्रो सातादेखि व्यापारिक उत्पादन सुरु हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १९.९१ किलोमिटर दुरीमा रहेको प्राधिकरणको कीर्तिपुर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो ।

कम्पनीले आयोजनाको स्थलगत निर्माणको काम २०७८ मंसिरदेखि सुरु गरेको हो । आयोजनामा ३४११ मिटर हेडरेस पाइप र ११९५ मिटर पेनस्टक पाइप निर्माण गरिएको छ ।

आयोजनाको काम १ अर्ब ६२ करोड रुपैयाँ लागतमा सम्पन्न भएको अनुमान गरिएको छ । आयोजनामा वाणिज्य बैंकको ७० प्रतिशत ऋण लगानी छ । बाँकी स्वपूँजी लगानी छ ।

कम्पनीले यो आयोजनासँगै ८.८ मेगावाटको दुधपोखरी चेपे जलविद्युत् आयोजनामा पनि लगानी गरेको छ । यो आयोजना अहिले निर्माणाधीन छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update