
बेसीशहर – लमजुङको बेसीशहर स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा पदबाट बर्खास्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिको बुधबारको बैठकले प्रमुख थापालाई पदबाट बर्खास्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसमा त्रिवि नियमावली र क्याम्पसको विधान अनुसार फौजदारी अभियोग लागेका व्यक्तिलाई क्याम्पस प्रमुख राख्न नसकिने प्रावधान रहेकाले प्रमुख थापालाई बर्खास्त गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीले बताए ।
प्रमुख थापा सहकारी ऐन ०७४ अन्तर्गत कसुर र ठगी मुद्धा अभियोगमा पक्राउ परेका थिए । गत मंसिर १८ गते जिल्ला प्रहरी कार्यालयमा थुनुवा पुर्जी बुझी उनी प्रहरी हिरासतमा थिए । लमजुङ जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६८ र ७२ लाई समेत दृष्टिगत गरि पौष ५ गते सात लाख धरौटी बुझाएर उनी तारेखमा छुटेका हुन् ।
त्रिवि नियमावली र क्याम्पसको विधान ०४७ को परिच्छेद ६ को दफा ६.२ (ङ) अनुसार फौजदारी अभियोग लागेको व्यक्ति क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले स्वीकार गर्न नसक्ने उल्लेख छ । अदालतबाट मुद्धाको अन्तिम किनारा नलागेसम्म क्याम्पस प्रमुख पदबाट थापालाई बर्खास्त गरिएको अध्यक्ष अधिकारीले बताए ।
थापालाई बर्खास्तसँगै क्याम्पस प्रमुखमा विधान ०४७ को परिच्छेदको दफा ६.१ (क) अनुसार सह प्राध्यापक रहेका शालिकराम अधिकारीलाई नियुक्त गरिएको छ ।
नवनियुक्त क्याम्पस प्रमुखलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै अध्यक्ष अधिकारी ।
यसअघि क्याम्पस प्रमुख नियुक्ती प्रकृया गलत भएको भनि उच्च उदालत पोखरामा रिट निवेदन परेको र उक्त मुद्धा खारेज भएको थियो । प्रमुख थापा विगत २९ बर्षदेखी एकक्षत्र क्याम्पस प्रमुख भएका थिए ।