TagaroNews
सरकारी बाईक दुरुपयोगः झुक्काउन विज्ञप्ती, पालिका प्रतिनिधि बेखबर

लमजुङ – तगारो न्युजमा ‘सरकारी बाईक दुरुपयोगः पालिका अध्यक्षले खुलेआम प्राइभेट बनाएर प्रयोग’ शीर्षकमा गत बुधबार समाचार प्रकाशित भएपछि मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले विज्ञप्ती निकालेर जनता झुक्काउने काम गरेका छन् । शुक्रबार प्रकाशित विज्ञप्तीबारे कार्यपालिका सदस्य एवं वडा अध्यक्षहरु नै बेखर रहेको पाइएको छ ।  

गाउँपालिकाले सामाजिक सञ्जालमा राखेको विज्ञप्तीबारे टिप्पणी गर्दै वडा नं. ६ का अध्यक्ष मिनराशी गुरुङ लेख्छन् ‘सत्य र झुट केहि थाहा भएन । तर, किन १६ औँ कार्यपालिका बैठक भैसक्दा पनि यो वाईकको कुरा राखिएन ? उनले प्रश्न गर्दै लेखेका छन् । जल्ने र मल्ने कुरा होइन । कि कार्यपालिकालाई अत्तो पत्तो नदिई विज्ञप्ती निकाल्नु क–कस्को निर्णय हो तनी ? केहि जानकारी नभएको हुनाले यस विज्ञप्तीमा मेरो सहमती छैन् ।’

प्रशासकीय अधिकृतले प्रयोग गर्ने भनी खरिद गरिएको सो होण्डा कम्पनीको XR 190 सिसि मोटरसाइकल विगत २ वर्ष देखि गाउँपालिको नाममा अस्थायी रातो नम्बर प्लेट (सवारी दर्ता नं. बागमती प्रदेश– ०२ ०३५ प ३१०५) मै सञ्चालित छ । 

०७८ चैत २५ मा गण्डकी प्रदेश यातायात कार्यालयबाट मर्स्याङ्दी गाउँपालिकाको नाममा ग १ ब २०७५ नम्बर कायम गरी नामसारी भएको मोटरसाइकलको ‘ब्लु बुक’मा प्रष्ट देख्न सकिन्छ । कायम भएको नम्बर नराखी अस्थायी नम्बर नै टालेर ट्राफिक नियम विपरित मोटरसाईकल सञ्चालित छ ।

तगारो न्यूजले लेखेको छ ‘मोटरसाइकल गाउँपालिकाको नाममा छ् तर, विगत दुई वर्ष देखि रातो नम्बर प्लेट राखेर अध्यक्षले दुरुपयोग गर्दे आएका छन् । गाउँपालिकाको नाममा ‘ब्लु बुक’ आइसकेपछि पनि सेतो नम्बर प्लेट लेख्न मात्र दुई वर्ष किन लाग्यो ? त्यो हाम्रो प्रश्न हो । तर, विज्ञप्तीमा भने, दुई बर्ष बितिसक्दा पनि अझै रातो प्लेटलाई सेतो बनाउने क्रममा नै रहेको भनि गैरजिम्मेवारी ढंगले जनतालाई झुक्काउने काम मात्र भएको प्रष्टै देखिन्छ । 

त्यतिमात्र होइन विज्ञप्तीमा आफै स्विकार्दै अध्यक्षले लेखेका छन् ‘तीन जना प्रकाशकीय अधिकृत फेरिएकाले हाम्रो यसतर्फ ध्यान नपुगेको हो । यो ढिलो भएको कुरा साँचो हो । अहिले जिन्सि शाखामा बुझ्दा सेतो नम्बर आइसकेको बुझिएकाले तत्काल सेतो नम्बर प्लेट राख्न निर्देशन गरिएको छ ।’

विज्ञप्तीमा थप भनिएको छ । ‘जहाँसम्म दुरुपयोग गरिएको भन्ने कुरा छ । यो बाइक प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्नका लागी खरिद भएको र खर्चको दृष्टिकोणले मितव्ययिता पनि हुने भएकाले गाउँपालिका अध्यक्षले गाडीको सट्टा कहिलेकाही प्रयोग गर्ने गरेको हो ।’

यसबारे तगारो न्युज निरन्तर फलोअपमा रहनेछ ।

गाउँपालिकाले सामाजिक सञ्जालमा राखेको विज्ञप्ती ।

यो पनि...

सरकारी बाईक दुरुपयोगः पालिका अध्यक्षले खुलेआम प्राइभेट बनाएर प्रयोग

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update