TagaroNews
सरकारी बाईक दुरुपयोगः पालिका अध्यक्षले खुलेआम प्राइभेट बनाएर प्रयोग

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पालिकाको मोटरसाईकल प्राइभेट बनाएर खुलेयाम चलाईरहेको तगारो न्युजले फेला पारेको छ । होण्डा कम्पनीको XR 190 सिसि रातो र सेतो रङको मोटरसाइकल विगत २ वर्ष देखि प्राइभेट बनाएर अध्यक्षले चलाईरहेको तथ्य फेला परेको हो ।

सो मोटरसाईकल सुरुवातमा कम्पनीबाट पहिलो पटक ०७८ फागुन ११ गते स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो नाममा (सवारी दर्ता नं. बागमती प्रदेश– ०२ ०३५ प ३१०५)  दर्ता भएको देखिन्छ । त्यस्तै दोस्रो पटक ०७८ फागुन २६ गते बागमती प्रदेशको यातायात कार्यालयको नाममा नामसारी गरिएको छ ।

लगत्तै तेस्रो पटक बागमती प्रदेशको यातायात कार्यालयबाट ०७८ चैत २५ गते ग २३ प ६०७ नम्बर कायम गरी गण्डकी प्रदेशको यातायात कार्यालयमा नामसारी भएको छ ।

चौथो पटक सोहि मितिमा गण्डकी प्रदेश यातायात कार्यालयबाट मर्स्याङ्दी गाउँपालिकाको नाममा ग १ ब २०७५ नम्बर कायम गरी नामसारी भएको मोटरसाइकलको ‘ब्लु बुक’मा प्रष्ट देख्न सकिन्छ । 

गाउँपालिकाकाले ०७८ चैतमा किनेको होण्डा कम्पनीको XR 190 र मोटरसाइकलको नम्बर ग १ ब २०७५ सेतो नम्बर प्लेट हुनपर्नेमा गाउँपालिका अध्यक्षले रातो नम्बर प्लेट (प्राइभेट) बा ०२ ०३५ प ३१०५ राखेर खुलेयाम चलाईरहेका छन् ।

उनले सो मोटरसाईकल दुरुपयोग गर्दै विभिन्न व्यक्तिगत काम तथा भ्रमणमा समेत लाने गरेका छन् । यतिमात्र होइन ब्लु बुकमा कायम भएको ग १ ब २०७५ मोटरसाईकल नम्बर नराखी अस्थायी नम्बर नै टालेर ट्राफिक नियम विपरित मोटरसाईकल सञ्चालित छ ।

अध्यक्ष सरकारी मोटरसाईकल दुरुपयोग गर्दै मनाङ भ्रमणमा गएको तस्बिर ।

यता गाउँपालिकाको मोटरसाइकल कुनै दुरुपयोग नभएको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए । उनले ढाकछोप गर्दै भने, ‘सिहंदरबार भित्र पनि सरकारी सवारीसाधनलाई रातो बनाएर चलाउने अभ्यास भएकै छ । सेतोलाई रातो प्लेट बनाएर चलाएपनि आधिकारिक मान्छेले मात्र चलाएको छ । प्राय मैले नै चलाउँछु कहिलेकाँही अध्यक्ष ज्यूले चलाउनुहुन्छ ।’

यसबारे गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘यो मोटरसाईकल गाउँपालिकाको हो, विवादको कुरै होइन । मेरो त गाडी छ नि । गाडी नै चढ्छु । तर, कहिलेकाँहि गाडी नजाने ठाउँमा मोटरसाईकल प्रयोग गर्छु । यस्को सेतो नम्बर प्लेट आईसकेको छ । हामीले छिट्टै सेतो नम्बर प्लेट टास्ने तयारीमा छौँ ।’

गाउँपालिकाको नाममा खरिद मोटरसाईकल २ बर्ष बितिसक्दा पनि रातो नम्बर प्लेटमै प्रयोग गर्नु र पालिका अध्यक्षको घरमै लगेर पार्किङ गर्नु सरासर सरकारी सवारीसाधनको दुरुपयोग भएको देखिन्छ ।

यो त एउटा उदहारण मात्र हो । जनताको करबाट खरिद हुने यस्ता सरकारी सवारीसाधनको सहि सदुपयोग र नियमन नहुने हो भने, जनप्रतिनिधिको कार्यशैली माथि पटक पटक प्रश्न उठिनैरहने देखिन्छ । 


पालिका अध्यक्षले आफनै घरको पार्किङमा राखेको मोटरसाईकल ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update