TagaroNews
रविमाथि खोया हान्ने लमजुङका युवक प्रहरी हिरासतमा 

पोखरा -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका युवकलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । 

कास्की प्रहरीले लमजुङको राईनास नगरपालिका ८ बस्ने वर्ष ३३ को सन्तोष रानाभाटलाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान थालेको जनाएको छ । 

शनिबार पोखराको अमरसिंहचोकमा भएको आमसभामा रानाभाटलाई मकैको खोया प्रहार गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि अपशब्द प्रयोग गरी हातपातसमेत गर्न खोजेको प्रहरीको जिकिर छ । 

सन्तोषले प्रहरीसँगको बयानका क्रममा आफूले नियतवश रविलाई खोया नहानेको बताएका छन् । कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार रानाभाटले आफू सूर्यदर्शन सहकारीको बचतकर्ता नरहेको पनि बताएका छन् ।

रविले शनिबार कार्यक्रममा नै उनलाई पक्राउ नगर्न र छाड्न आग्रह गरेका थिए । तर, प्रहरीले उनलाई समय लिएर अनुसन्धान गर्न लागेको हो । 

‘रवि लामिछाने मञ्चमा बोल्दै गरेको अवस्थामा रानाभाटले मकैको खोयाले मञ्चतर्फ फाली भाग्न खोजेको अवस्थामा कार्यक्रम स्थलमा खटिएको प्रहरीले पक्राउ गरी सोधपुछ तथा सम्झाई बुझाई गर्ने क्रममा उल्टै डिउटीमा रहेको प्रहरीलाई अपशव्द प्रयोग गरी गालिगलौज एवं हातपात समेत गर्ने प्रयास गरी डिउटीमा अवरोध पुर्याइ अभद्र व्यवहार गरेको भन्ने तत्काल खटिएको प्रहरीको प्रतिवेदनको आधारमा निजलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसूरमा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ,’ कास्की प्रहरी प्रवक्ताको नाममा जारी विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update