
बेसीशहर - लमजुङमा दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होलासोथार गाउँपालिका–३ बस्ने ६२ वर्षीय उदिमजंग गुरुङ रहेका छन् ।
१२ र १४ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको प्रहरीमा परेको जाहेरीका आधारमा गुरुङलाई गत बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । उनका अनुसार गुरुङलाई शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धान गर्दा गुरुङले १४ वर्षीया बालिकालाई गत भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको खुल्न आएको प्रहरीको भनाई छ ।
गुरुङविरुद्ध २ जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा अघि बढेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीले केहि अघि शारीरिक अपाङ्गता भएकी २२ बर्षिय युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा क्व्होलासोथर ७ बस्ने ५२ बर्षका शेर बहादुर भाटलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।