TagaroNews
काठमाडौंमा सहकारी ठगीः फरार आरोपित लमजुङमा पक्राउ
पक्राउ परेका लिलाधर सापकोटा । 

लमजुङ – काठमाडौंको एक सहकारी ठगी गरी फरार रहेका एक पुरुष लमजुङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–८ बस्ने ७१ बर्षिय लिलाधर सापकोटा रहेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–९ स्थित आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक सापकोटा विरुद्ध काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दा दायर भएको प्रहरीले जनाएको छ । 

गत भदौमा मुद्धा दायर भए लगत्तै सापकोटा फरार रहेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा लमजुङ प्रहरीले बिहीबार सुन्दरबजार नपा- ८ भोटेओडारबाट उनलाई पक्राउ गरेको हो । 

पक्राउ लगत्तै सापकोटालाई सीआइबीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए ।

यो सहकारीका अध्यक्ष ४९ वर्षीय दलबहादुर आले यसअघि नै पक्राउ परिसकेका छन् । सञ्चालक समितिका १५ जना फरार रहेकामा लमजुङ बस्दै आएका उपाध्यक्ष सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

२०६५ सालमा स्थापना भएर सञ्चालनमा आएको यो सहकारीका सञ्चालकले १७५ जना बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ । सञ्चालक सबैलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update