TagaroNews
लमजुङको कालिका सहकारी ठगी प्रकरण: पक्राउ परेका ७ जना धरौटीमा रिहा

बेसीशहर - लमजुङमा सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ७ जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत लमजुङले बेसीशहर स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सहित ७ जनालाई बिहीबार धरौटीमा रिहा गरेको हो । 

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा चलाएका ३४ जनामध्ये प्रहरी हिरासतमा रहेका ७ जना जनही ७ लाखदेखि १२ लाख रुपैयाँ धरौटी रकम बुझाएर बिहीबार तारेखमा रिहा भएको अदालतका श्रेस्तेदार भेषराज पौडेलले बताए । 

पक्राउ परेका ७ जनाले अदालतमा ७२ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका हुन् । जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले ४ जनालाई जनही १२ लाख, १ जनालाई १० लाख र २ जनालाई जनही ७ लाखका दरले धरौटी माग गरेको थियो । 

अदालतको आदेशअनुसार सहकारीका अध्यक्ष शिवराम शिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, तत्कालीन कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलन शर्मा दनाई र संस्थाका प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया जनही १२ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । 

यस्तै कालिका सहकारीका लेखापरीक्षक महेन्द्र शर्मा पौडेल १० लाख रुपैयाँ साथै सहकारीका सचिव कृष्ण केसी (कृष्णबहादुर खत्री ) र सदस्य हरिबाबु थापा जनही ७ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेको अदालतले जनाएको छ । 

सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेपछिको बयान, बहससँगै बिहीबार थुनछेक बहस भएको थियो । अदालतमा मुद्दा दायर गरिएका ३४ जनामध्ये २७ जनालाई प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए ।

तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी श्रीमती बिनिता घिमिरे (हाल सहकारीका कोषाध्यक्ष) अझै फरार छन् । मृगेन्द्रलाई सहकारी ऐन कसुर साथै ठगी कसुरमा समेत अनुसन्धान गरेर मुद्दा दर्ता भएको छ । यस्तै, सञ्चालकविरुद्ध उजुरीकर्ता तैमाया गुरुङलगायत ५ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सहकारी ऐन कसुर मुद्दामा सरकारी वकिलको कार्यालयका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता राजकुमार श्रेष्ठले बहस गरेका थिए भने, प्रतिवादीका तर्फबाट कानुन व्यावसायीहरु वरिष्ठ अधिवक्ता यज्ञराज पौडेल, कृष्णप्रसाद अधिकारी र डा. गजेन्द्र अर्यालले बहस गरेका थिए ।

बिहिबार धरौटीमा रिहा भएकामध्ये ६ जनालाई मंसिर १० र १ जनालाई मंसिर १७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । बाँकी २७ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

यो पनि..

सहकारी ठगी प्रकरणः लमजुङको कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा

सहकारी ठगीः लमजुङको कालिका सहकारीका अध्यक्ष सहित ६ जना पक्राउ, दुई फरार

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update