TagaroNews
नेपालको ऋण झन्डै २४ खर्ब 
सांकेतिक तस्बिर ।

काठमाण्डौ – नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मङ्सिर सम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको छ ।

यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ छ । वैदेशिकतर्फको ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । साउनदेखि मङ्सिरसम्मको ५ महिनामै सरकारले १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । जसमा आन्तरिकतर्फ एक खर्ब ११ अर्ब ३१ करोड र वैदेशिकतर्फ १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । 

साउनदेखि मङ्सिरसम्म सरकारले साँवा र ब्याज गरेर ५९ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी पनि गरेको छ । राजस्वसहितका आम्दानी घट्दा सरकारले ऋण लिएर खर्च गरिरहेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक बर्षको ५ महिनामा सरकारले कुल ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

तर, खर्च भने चार खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण लिएर मुलुकको खर्च चलाउने अवस्था आएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update