
लमजुङ- लमजुङका गुरुङ समुदायले ल्होसार अर्थात् (नयाँ वर्ष) धूमधामका साथ मनाउने भएका छन् । विगत वर्ष जसरी यसवर्ष पनि विविध कार्यक्रम गरी ल्होसार मनाइने सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
गुरुङहरूले यो वर्ष ह्युइ ल्हो अर्थात् विरालो वर्गलाई बिदाइ गरी मुप्रि ल्हो अर्थात् गरुड वर्गलाई स्वागत गर्दै ल्होसार भव्यताका साथ मनाउने भएका छन् ।
वर्गचक्र फेरिएसँगै गुरुङ समुदायमा नयाँ वर्षको रूपमा धूमधामसँग तमु ल्होसार पर्व मनाउने गरिन्छ । गुरुङहरूको जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्ड ल्हो अर्थात् वर्गको महत्व भएकोले ल्होसारलाई ठूलो पर्वको रूपमा मनाउने गरिएको तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष जीवराज घलेले बताए ।
अध्यक्ष घलेका अनुसार पुस १२ गते लमजुङ अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गर्ने, १३ गते खुल्ला नृत्यु प्रतियोगिता, १४ गते विभिन्न झाँकी र्याली सहित बेसीशहर बजार परिक्रमा गरी तमु संग्रहलयको प्राङ्गणमा विभिन्न कार्यक्रम गरी समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पुस १५ गते ल्होसारको मुख्य कार्यक्रम सकिए पनि टोलटोलमा ल्होसार मनाउने कार्यक्रम भने जारी रहनेछ । बेसीशहरको मनाङे चौतारा टोल, प्रगति टोल, सहजी टोल, शान्ति टोल र सेरा टोलमा दिनभरि नाचगान गरी टोलका स्थानीय एक आपसमा भेला भएर स्योकैं अर्थात् सामूहिक भोज खाने कार्यक्रम हुनेछ ।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा(च्यु), गाई(ल्वो), बाघ(तो), बिरालो(ह्युइ), गरुड(मुप्रि), सर्प(सप्रि), घोडा(त), भेडा(ल्हु), बाँदर(प्र), चरा(च्हया), कुकुर(खी) र मृग(फो) प्रतिकका रूपमा लिइन्छ ।
तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति लमजुङले बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलन ।