TagaroNews
लमजुङमा वडा अध्यक्षलाई ज्यान मार्न 'सुपारी'
वडा अध्यक्ष सुदिप थापा ।

बेसीशहर – लमजुङका एक वडा अध्यक्षलाई आफ्नै काका पर्नेले ज्यानमार्ने सुपारी दिएको कुरा बाहिरिएको छ । मध्यनेपाल नगरपालिका–१ का वडा अध्यक्ष सुदिप थापालाई उनका काका पर्ने ४५ बर्षिय बाबुराम थापाले मान्छे लगाएर १ लाख ५० हजार दिने सर्तमा बैना समेत दिएर मार्न सुपारी दिएको घट्ना बाहिरिएको हो । 

वडा अध्यक्ष थापाले बेसीशहरमा पत्रकार सम्मेलन गर्दै शुक्रबार घट्नाबारे खुलाएका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘काका बाबुराम थापा र उनका छोरा २३ बर्षिय सागर थापाले घरमै मान्छे लुकाएर राखेर मलाई मार्ने योजना बुनेका रहेछन् । म माथि ३/४ पटक मार्ने प्रयास समेत भएछ । तर, कुन नियत वा रिसिविले यो कार्य भएको हो त्यो त प्रहरी अनुसन्धानमा खुल्ला नै, म त छक्क परेको छु ।’

वडा अध्यक्ष थापाले बेसीशहरमा गरेको पत्रकार सम्मेलन ।

वडा अध्यक्ष थापाले थप कुरा राख्दै भने, ‘विगत केहि दिन अघि काका बाबुरामको घरबाट सुनका गहना हराएको कुरा सुने, र गत बुधबार वडा अध्यक्षको नाताले काकाको घरमा बुझ्न गएको थिएँ । सो दिन काका काम बिशेषले बेसीशहर जानुभएको रहेछ । तर, स्थानीय छरछिमेकसँग बुझ्दा सुनको विषय त कसैले पनि थाहा नभएको बताए । बरु, उल्टै काकाले अन्य अपरिचित व्यक्ति घरमा ल्याइ राखेको कुरा पो सुने ।’

उनले थपे, ‘फोन गरेर काकालाई सुनको विषयमा कुरा गर्नु छ भनेर खबर गरेँ । साँझ ७ बजे प्रहरी चौकी सोतीपसलमा बसी सुन हराएको विषयमा छलफल सुरु गरियो । उनको घरमा आएका तनहुँको ब्यास नपा– ७ घर बताउने ३१ बर्षिय रोसन गुरुङ पनि त्यहाँ उपस्थित थिए । उनले सुन हराएको विषय थाहा नभएको बताए । तर, उनले प्रहरी माझ यस्तो राज खोल्दा म त दंग परेँ ।

उनले प्रहरी र मेरो सामु आफुलाई बाबुराम थापा र निजको छोरा सागरले सेटिङमा वडा अध्यक्षलाई मार्न भनि १ लाख ५० हजारको सुपारी (बैना) समेत दिई आफुलाई केहिदिन देखी आफनो घरमा ल्याएको कुरा खुलाए । सागरको भनाई मोवाइलमा भिडियो रेकर्ड राखेका थापाले भिडियो रेकर्ड सुनाउँदै भने, 'वडा अध्यक्षलाई विगत ३/४ दिनदेखि मार्ने प्रयास गरेपनि असफल भएको कुरा प्रहरी सामु समेत उनले स्विकार गरे । यतिमात्र होइन बाबुराम र उनको छोरा सागरले समेत यो कुरा सत्य भएको प्रहरी सामु खुलाए ।'

सो पश्चात वडा अध्यक्ष थापाले ज्यान मार्ने उद्योगमा कारबाहिको माग सहित बिहिबार जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दिँदा प्रहरीले यो शिर्षकमा जाहेरी लिन नमानेको समेत उनले पत्रकार सम्मेलनमा भनेका छन् । 

बाबुराम थापा, उनका छोरा सागर थापा र रोशन गुरुङलाई भने, प्रहरीले बिहिबार राती नै नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष थापा शुक्रबार समेत जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका छन् । 

यता जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईसँग कुरा गर्दा उनले भने, ‘हामीले ३ जनालाई गएराती नै नियन्त्रणमा लिएका छौँ । वडा अध्यक्षले ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने कुरा गरेकाले आधार पुष्टि हुन आए जाहेरी लिएर अनुसन्धान अघि बढाउनेछौँ ।’

वडा अध्यक्ष थापाले प्रहरीमा दिएको जाहेरी :-

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update