
सुन्दरबजार – लमजुङमा फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । अन्य २५ बढि बिरामी परेका छन् ।
सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण पुरानोकोट घर भई सुन्दरबजार नपा– ९ बस्ने ३२ बर्षिय देवी परियारको मृत्यु भएको हो । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामूहिक भोजमा सहभागीहरु सुन्दरबजारस्थित एचडिसिएस नमूना सामूदायिक अस्पतालमा भर्ना भएका छन् । बिरामी मध्ये केहिलाई उपचारका लागी जिल्ला बाहिर रिफर गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।
सुन्दरबजार नपा– ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियो । सो भोजमा सहभागी करिब ४० जना मध्ये आइतबार दिउँसो सम्म ३० जना बढि फुड पोइजनका कारण अस्पताल भर्ना भइसकेको प्रहरीले जनाएको छ ।
भोजमा सहभागी सुन्दरबजार ८ र ९ का व्यक्तिहरु शनिबार देखी नै विरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समेत समस्या देखिएपछि उनीहरु अस्पताल पुगेका हुन् । भोजमा सहभागी व्यक्तिहरु अस्पताल आउने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ । हालसम्म अस्पताल भर्ना हुनेमा १५ महिला, ४ पुरुष, ८ बालक र ३ बालिका छन् ।
अस्पताल आएका विरामीहरुमा ज्वरो र झाडापखला लगाएतको समस्या देखिएको छ । भोजमा सहभागीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको सहभागीहरुले जानकारी दिएका छन् ।