TagaroNews
सहकारी ठगी प्रकरणः लमजुङको कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा 

बेसीशहर – सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परी अनुसन्धानमा रहेका लमजुङको कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा रहने भएका छन् । 

सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ६ जनालाई अनुसन्धानका लागि दोस्रो पटक शुक्रबार लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।  

अनुसन्धानको क्रममा प्रहरी हिरासतमा अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल छन् ।

८ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र उनको श्रीमती हाल सहकारीका कोषाध्यक्ष विनिता घिमिरे अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । 

उनीहरूविरुद्ध १० करोड रकम अपचलन गरेको अभियोग छ । प्रहरीले मंसिर १० गते आइतबार पक्राउ गरेका उनीहरूलाई पहिलो पटक लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । 

यस्ता मुद्दामा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिहरूलाई २५ दिन थुनामा राख्न पाउने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ । सहकारीको रकम हिनामिना एवं ठगीमा ४५ बढी बचतकर्ताहरुले सहकारी ठगी शिर्षकमा प्रहरीमा जाहेरी दिएका छन् ।

ठगीको उजुरीका लागि प्रहरीले जारी गरेको सूचनाको म्याद मंसिर १० गते सकिएको छ । तर, आएका उजुरीहरु लिने क्रम जारी रहने प्रहरीले जनाएको छ । 

२ वर्षअघि तत्कालीन कालिका, कपुरेश्वर र सम्पदा नामका सहकारीहरु एकीकरण गरी जिल्लाकै पुरानो कालिका सहकारी नामकरण मार्फत सञ्चालनमा आएको थियो । 

यस सहकारीका लमजुङकै मध्यनेपाल नपा- ७ रामबजार, सुन्दरबजार नपा- ८ भोटेओडार र दोर्दी गापा– ४ नौथर सेरामा ३ सेवा शाखा थिए ।

यो पनि...

सहकारी ठगीः लमजुङको कालिका सहकारीका अध्यक्ष सहित ६ जना पक्राउ, दुई फरार

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update