TagaroNews
लमजुङ बेसीशहरमा एचआइभी संक्रमित बढ्दै

बेसीशहर – लमजुङको बेसीशहरमा एचआइभी (HIV) संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । लमजुङको तथ्याङ्क हेर्दा जिल्लाको अन्य पालिकाको तुलनामा सबैभन्दा धेरै बेसीशहर नगरपालिकामा एचआइभी संक्रमित बढेको देखिन्छ । 

लमजुङ जिल्लामा १ सय ७२ जना एचआइभी संक्रमितको तथ्याङ्क रहेकोमा हाल १ सय २४ जनाले नियमित रुपमा औषधी सेवन गर्दै आइरहेका छन् ।

जसमध्ये बेसीशहर नगरपालिकाको मात्रै २४ जना छन् । अन्य पालिका भन्दा बेसीशहरमा जनघनत्व बढी भएकाले पनि संख्या बढेको लमजुङ अस्पतालका एचआइभी एड्स परामर्श शाखाका परामर्शदाता गणेश गुरुङले बताए ।

उनका अनुसार शाखामा आव ०६६/०६७ देखी जिल्लामा एचआइभी संक्रमितको तथ्याङ्क राख्न थालिएको हो । जिल्लामा नियमित औषधी सेवन गर्नेमा ६० जना महिला र ५४ जना पुरुष छन् ।

एचआइभी संक्रमित मध्ये २५ जनाको मृत्यु भैसकेको तथ्याङ्कमा उल्लेख छ । मृत्यु हुनेमा १५ जना पुरुष र १० जना महिला छन् । 

शाखाका अनुसार १५ जनाले अन्य स्थानबाट औषधी सेवन गर्दै आएका छन् भने, ८ जना संक्रमित सम्पर्क बिहिन छन् ।

जिल्लाका पालिकाहरु मध्य राइनास नगरपालिकामा २१, क्व्होलासोंथर गाउँपालिकामा १८, मस्र्याङ्दी गाउँपालिकामा १८, सुन्दरबजार नगरपालिकामा ११ दोर्दी गाउँपालिकामा ८, दुधपोखरीमा ७ र मध्यनेपाल नगरपालिकामा ६ जना एचआइभी संक्रमितले नियमित औषधी सेवन गर्दै आएका छन् । 

संक्रमित भइ औषधी सेवन गर्नेमा १५ बर्ष मुनिका ५ जना वालवालिका छन् भने, ६० बर्ष माथिका ३ जना रहेका छन् ।

आव ०७९/८० को तथ्याङ्क हेर्दा ३ हजार ३ सय ९९ जनामा एचआइभी परिक्षण गरिएकोमा २ जना महिलामा संक्रमण देखिएको थियो । यस्तै यस आव ०८०/८१ को साउन देखि कार्तिकसम्म १ हजार ४९ जनाको परिक्षण गर्दा १ जना महिलामा संक्रमण देखिएको लमजुङ अस्पतालले जनाएको छ । 

यता शुक्रबार ३६ औँ विश्व एड्स दिवसका अवसरमा सदरमुकाम बेसीशहरमा ५६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य कार्यालयले गरेको उत्त परिक्षणमा २ महिला सहित ५४ जना पुरुषको स्वास्थ्य परिक्षण गरिएकोमा कसैमा पनि संक्रमण देखिएन् ।

डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । 

नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने केन्द्रले जनाएको छ ।

असुरक्षित यौनसम्पर्कलाई एचआइभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ ।

नियमित एन्टिरेट्रो भाइरल औषधि खाए एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन् । सरकारले एचआइभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रो भाइरल उपचार सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update