TagaroNews
सुत्केरी र शिशुको मृत्यु पश्चात लमजुङ अस्पताल तनाबग्रस्त
तोडफोड र प्रदर्शनमा उत्रिएकाहरुलाई लाठीचार्ज गर्दै प्रहरी ।

बेसीशहर – उपचारको क्रममा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि पिडित पक्षले लमजुङ अस्पतालमा तोडफोड तथा प्रदर्शन गरेका छन् । 

लमजुङ अस्पतालको लापरबाहीका कारण लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ की २६ बर्षिय गर्भवती शोभा विक र उनको शिशुको उपचारको क्रममा मृत्यु भएको भन्दै पिडित पक्षले बिहीबार अस्पतालमा तोडफोड र प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा पिडित पक्षले अस्पतालमा ढुङ्गामुडा गर्ने, अस्पताल गेटमा टायर बाल्ने, उपचारमा संलग्न चिकित्सको कारबाही लगाएतको माग सहित नाराबाजी गरेका थिए । प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज गरेको छ, भने, प्रदर्शन रोक्न ८ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । 

प्रदर्शन बढ्दै गएपछि अस्पताल तनावग्रस्त बनेको छ् भने, अस्पताल परिसरमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

गर्भवती विकलाई सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको र मंगलबार दिउँसो अपरेशन मार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको थियो । सो पश्चात सुत्केरी आमाको समेत रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका ५ बजे चितवन मेडिकल कलेज रिफर गरिएको र निजको उपचारको क्रममा सोहि दिन बेलुका नै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सोहि विषयलाई लिएर पिडित पक्षहरुले अस्पतालको लापरबाहीका कारण सो घट्ना हुन गएको आरोप सहित बुधबारदेखी प्रदर्शन सुरु गरेकोमा बिहीबार प्रदर्शन सहित तोडफोडमा उत्रिएका हुन् । 

यता घट्ना छानबिन गर्न बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन भएको छ ।

यो समितिले घट्नाबारे सत्यतथ्य पत्ता लगाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय समक्ष ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न भनेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

यो पनि....

लमजुङ अस्पताल: सुत्केरी र शिशु मृत्यु घटनाबारे बिशेष टिमले छानबिन गर्ने

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update