TagaroNews
लमजुङ अस्पताल: सुत्केरी र शिशु मृत्यु घटनाबारे बिशेष टिमले छानबिन गर्ने

बेसीशहर – उपचारको क्रममा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि यस घट्नाबारे छानबिन गर्न छानबिन तथा अध्ययन समिति गठन गरिएको छ । 

लमजुङको मर्स्याङ्दी गापा–९ की २६ बर्षिय गर्भवती शोभा विक र उनको शिशुको उपचारको क्रममा मृत्यु भएको घट्नाबारे प्रदेशबाट विशेष टोली मगाएर छानबिन गर्ने निर्णय भएको हो ।  

घट्ना छानबिन गर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन भएको छ । 

सो समितिको सदस्यमा बेनी अस्पताल म्याग्दीका कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा. अन्जु थापा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन डा. रामचन्द्र बास्तोला, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश कुमार केसी, मर्स्याङ्दी गाउँपालिका- २ का कृष्ण बहादुर विक छन् भने, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख चण्डिका पौडेल सदस्य सचिव रहेका छन् । 

यो समितिले घट्नाबारे सत्यतथ्य पत्ता लगाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय समक्ष ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने र सो प्रतिवेदनको आधारमा बाँकी पक्रिया अघि बढ्ने मन्त्रालयका उपसचिव चण्डिका पौडेलले बताए । 

बुधबार जिल्ला प्रशासन कार्यालय, लमजुङ अस्पताल व्यवस्थापन समिति, मृतकको आफन्त, अस्पतालका प्रमुख, गाउँपालिका अध्यक्ष, अधिकारकर्मी लगायतको टोलीबिच भएको वार्तामा यस्तो निर्णय भएको हो ।

गर्भवती विकलाई सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको र मंगलबार दिउँसो अपरेशन मार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको थियो । सो पश्चात सुत्केरी आमाको समेत रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका ५ बजे चितवन मेडिकल कलेज रिफर गरिएको र निजको उपचारको क्रममा सोहि दिन बेलुका नै मृत्यु भएको हो । 

सोहि विषयलाई लिएर पिडित पक्षहरुले अस्पतालको लापरबाहीका कारण सो घट्ना हुन गएको आरोप सहित बुधबार दिनभर अस्पताल गेटअगाडी प्रदर्शन गरेका थिए । 

यो पनि...

सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update