TagaroNews
नेपालमै पहिलो पटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता
समलिंगी जोडीको विवाह दर्ता पत्र बुझाउँदै गाउँपालिका अध्यक्ष अधिकारी ।

दोर्दी - नेपालमै पहिलो पटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ। लमजुङको दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका- ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको हो।

राम बहादुर गुरूङको पहिलो विवाह सम्बन्ध विच्छेद भएपछि उनको दोस्रो विवाह समलिंगीसँग भएको हो । उनीहरुको बुधबार गाउँपालिकामै समलिंगीको विवाह दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न गत असारमा सरकारलाई अन्तरिम आदेश दिएको थियो।

यसअघि विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँदै समलिंगीहरूको विवाह दर्ता अस्वीकार गर्दै आएका थिए । त्यस्तो अवस्थामा समलिंगी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्तिलगायतका व्यवहार र कारोबारमा अड्चन खेप्दै आएका थिए । 

सर्वोच्च अदालतले संविधानले नागरिकलाई लैंगिक पहिचानसहितको नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र विवाह गर्ने स्वतन्त्रता हुने कानुनी आधार उल्लेख गरेको छ । 

संविधानको धारा १२ मा लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था रहेको, मुलुकी देवानी संहिता २०७४ को दफा ६९ (१) मा प्रत्येक नागरिकलाई विवाह गर्ने स्वतन्त्रता हुने गरी व्यवस्था भएको तथा नेपालको संविधानको धारा १८ (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने व्यवस्था भइरहेको देखिने सर्वोच्चले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update