TagaroNews
सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन 
लमजुङ अस्पताल लमजुङ ।

बेसीशहर – उपचारको क्रममा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा पिडित पक्षहरुले प्रदर्शन गरेका छन् । 

अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप तथा असन्तुष्टि जनाउँदै अस्पताल गेटमा आएर पिडित पक्षहरुले प्रदर्शन गरेका हुन् ।

लमजुङको मर्स्याङ्दी गापा–९ की २६ बर्षिय गर्भवती शोभा विक र उनको शिशुको मृत्यु भएको हो । गर्भवती विकलाई सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो अपरेशन मार्फत बच्चा निकाल्दा मृत शिशु जन्मिएको अस्पताल प्रशासनले जनाएको छ ।

सो पश्चात सुत्केरी आमाको समेत रगत बग्ने समस्या नरोकिएपछि मंगलबार बेलुका ५ बजे चितवन मेडिकल कलेज रिफर गरिएको र निजको उपचारको क्रममा सोहि दिन बेलुका नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोहि विषयलाई लिएर पिडित पक्षहरुले अस्पतालको लापरबाहीका कारण सो घट्ना हुन गएको आरोप लगाएका छन् । 

आज बिहान करिब ११ बजेबाट अस्पताल व्यवस्थापन समिति, मृतकको आफन्त, अस्पतालका प्रमुख लगाएतको टोली यस विषयमा वार्तामा जुटेको छ ।  

अस्पतालको अवस्था भने, सामान्य रहेको र अस्पतालका अन्य सेवा सञ्चालन भइरहेका छन् । हालको अवस्थालाई मध्यनजर गर्दै आवश्यक सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 

अस्पताल गेटमा प्रदर्शन गर्दै पिडित पक्षहरु ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update