TagaroNews
नगरपालिका मुकदर्शक:  बेकामे बेसीशहरका सिसि क्यामेरा

बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहर बजार क्षेत्रमा शान्तिसुरक्षाका लागि जडान गरिएका सीसी क्यामेरा बिग्रिएको बषौं हुँदासमेत मर्मत हुन सकेका छैनन् ।

सीसी क्यामेरा मर्मत नहुँदा बजार क्षेत्रको सुरक्षा चुनौती बढेको छ । बजारका विभिन्न स्थान तथा चोकहरुमा जडान गरिएका सीसी क्यामेरा बिग्रीएर बसेको वर्ष दिन बित्दा समेत सम्बन्धित निकायले मर्मतमा चासो देखाएका छैनन् ।

बेसीशहर सिसी क्यामेराले निगरानी गर्ने भन्दै २०७४ साल जेठमा लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको सक्रियतामा सिसि क्यामेरा जडान गरिएको थियो । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने र बजारवासीलाई सुरक्षा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सिसी क्यामेरा जडान गरिएको भएपनि अहिले यस्को मर्मतमा कसैको ध्यान पुगेको देखिदैन् ।

बेसीशहरको २१ स्थानमा २३ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि अहिले मुस्किलले ७ स्थानको मात्र सिसि क्यामेरा सञ्चालनमा छ । 

चालुमा रहेका क्यामेरा हेर्दा जिल्ला प्रहरी कार्यालयको गेट अगाडी एक, नारायणस्थान ओरालोमा र नारायणस्थान चोकमा गरी दुई, झिंगे खोला माइक्रो बस काउण्टर नजिक दुई वटा, पृथ्वी बस काउण्टर शेरा नजिक २ दुई वटा, प्रशासन चोकमा एक र क्याम्पस रोडमा एक वटा मात्र सिसि क्यामेरा चालु रहेको छ । 

पाँचसय मिटर दूरी सम्मको क्रियाकलाप प्रष्ट रेकर्ड गर्न सक्ने अत्याधुनिक क्यामेरा जडान गरिएको भएपनि बषौंसम्म यस्को मर्मत नहुँदा बेसीशहरका मुख्य क्षेत्रमा सुरक्षा चुनौति बढेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । 

उनले भने, ‘बेसीशहरको भौगोलिक बनावट सुरक्षाका दृष्टिले संवेदनशील छ । कुनै घटनापछि अभियुक्त वा अपराधी सजिलै फरार हुने सम्भावना बढि हुन्छ । यस्मा सिसि क्यामेरामार्फत निगरानी गर्न सघाउ पुग्ने भएपनि मर्मत नहुँदा झन चुनौती बढेको छ ।’

२० लाखको लगानीमा जडान गरेको क्यामेरा इकाइले प्रथम बेसीशहर महोत्सवबाट खर्च संकलन गरेको तत्कालिन अध्यक्ष कृष्णजंग गुरुङले बताए । उनले भने, ‘सुरक्षाको कुरा सबैको साझाको विषय हो, हामीले त अभियानको सुरुवात गरेर बेसीशहर नगरपालिकालाई जिम्मा दिएका हौँ । तर, अहिले यस्तो बिजोग देख्दा दुःख लाग्छ ।’ 

जिल्ला प्रहरी कार्यालय लमजुङले भने, बिग्रीएका सिसि क्यामेरा मर्मतका लागी बेसीशहर नगरपालिकासँग समन्वय गरिरहेको जनाएको छ ।

यता बेसीशहर नगरपालिकासँग बुझ्दा पछिल्लो बर्ष सिसि क्यामेरा मर्मत हुन नसकेको नगरपालिका प्रवक्ता हिरालाल विश्वकर्माले बताए । उनले भने, ‘बिचमा बिग्रीएर ४ वटा मात्र सिसि क्यामेरा चलेकोमा नगरपालिकाले ५ वटाको मर्मत गरेको हो । अहिले ९ वटा क्यामेरा सञ्चालनमा छन् । आगामी दिनमा नगरपालिकाको आइटी क्षेत्रमा आएको बजेटबाट सिसि क्यामेरा मर्मत गर्ने तयारीमा छौँ ।’

लामो समय सिसि क्यामेरा मर्मत नहुँदा पछिल्लो समय बेसीशहरमा घटेका अपराधिक क्रियाकलाप, बढ्दै गएका चोरीका घट्ना, सवारी साधन दुर्घटनाका घट्ना लगाएतका घट्नामा प्रहरीलाई सुरक्षा चुनौति बढेको छ । भने, शान्ति सुरक्षाको विषयमा समेत प्रश्न उठेको देखिन्छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update