TagaroNews
सहकारी ठगीः लमजुङको कालिका सहकारीका अध्यक्ष सहित ६ जना पक्राउ, दुई फरार 

बेसीशहर – सहकारीको रकम अपचलन गरेको आरोपमा लमजुङको एक सहकारीका अध्यक्ष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सदरमुकाम बेसीशहरको सेरामा मुख्य कार्यालय रही केहि महिनादेखि बन्द रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ६ जनालाई सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल रहेका छन् ।

८ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र उनको श्रीमती सहकारीका कोषाध्यक्ष विनिता घिमिरे भने, फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । 

फरार रहेका घिमिरे दम्पती ।

प्रहरीका अनुसार सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेकोले निजहरु उपर कारबाही गर्न ४५ बढी बचतकर्ताहरुले सहकारी ठगी शिर्षकमा प्रहरीमा जाहेरी दिएका छन् ।

पक्राउ परेकाहरुलाई आइतबार दिउँसो लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको इन्सपेक्टर चपाईले जानकारी दिए । 

कालिका साकोसका सञ्चालकहरूका विरुद्धमा पीडितहरूले ठगीको उजुरी दिनका लागि जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनाको म्याद मंसिर १० गते सकिएको छ । तर, आएका उजुरीहरु लिने क्रम जारी रहने प्रहरीले जनाएको छ । 

कसरी खुल्यो तथ्य
यस सहकारी संस्था लिमिटेडका सञ्चालकहरुले झन्डै १० करोड रुपैयाँ बढिको आर्थिक हिनामिना गरेको पाइएको छ । बेसीशहरमा ०५६ सालदेखि सञ्चालनमा रहेको यस सहकारीमा सञ्चालकले आर्थिक हिनामिना गरेको उजुरी परेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले छानबीन गर्दा सञ्चालकले ठगी गरेको तथ्य खुलेको हो ।

सहकारी ठगी तथा मुलुकी अपराधसहिता कार्यबिधिको दफा २५३ बमोजिमको अपराधिक लाभ उठाउन सहकारीको प्रयोग गरिएको देखिन्छ । यो सहकारी मर्जर पुर्वका सञ्चालक समितिले सहकारीको प्रयोग गरि आर्थिक हिनामिना गरेको उजुरी परेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका प्रमुख रोशन अर्यालको निर्देशनमा सो सहकारी माथि छानबिन भएको थियो ।

सो छानबिनको प्रतिबेदनमा तत्कालिन कालिका सहकारीका पदाधिकारी मृगेन्द्र घिमिरे, बिनिता घिमिरे र एकीकरण समितिका आर्थिक विश्लेषण समितिका लेखापरीक्षक समेत रहेका साबिक सम्पदा सहकारीका पदाधिकारी महेन्द्र शर्मा पौडेलले अनुसन्धान नै प्रभावित पार्न कार्यालयका प्रमाण तथा तथ्याङ्कहरु नस्ट गर्ने, अपराधिक लाभ उठाउने मनसायले बचतकर्ताको सम्पत्ती आफ्नो नाममा पास गराई सहकारीबाट बचतकर्तालाई ठगी गर्ने र कर्जा लगानीमा समेत बढी रकमको तमसुक तयार गरि कम रकम प्रदान गर्ने जस्ता कार्य गरेको अनुसन्धानबाट देखिएको छ ।

त्यस्तै साबिकको सम्पदा सहकारी तर्फका सञ्चालकहरुले समेत गैरकानूनी तवरले राज्यलाई कर छली गर्ने मनसायले गैरकानूनी रकम असुली गरि लाभाश बितरण गर्ने तथा साबिक करपुरेश्वर सहकारीका सञ्चालकले समेत जग्गाको मूल्य बढाई निक्षेप कर्ताको रकम हिनामिना गरेको निस्कर्ष प्रतिबेदनमा उल्लिखत छ । यसरी मर्जरको समयमा फर्जी खर्च लेखी रकमहरु हिनामिना गर्ने समेत कार्य भएको अनुसन्धानले देखाएको छ ।

कालिका सहकारीका तत्कालिन सञ्चालक मृगेन्द्र घिमिरे सो कार्यका मुख्य योजनाका तथा अन्य केही तत्कालिन पदाधिकारी समेत रहेका छन । छानबिन प्रतिबेदनको आधारमा रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले मृगेन्द्र घिमिरे, बिनिता घिमिरे र महेन्द्र शर्मा पौडललाई थप अनुसन्धान गरि अपराधी लाभ र सहकारी ठगीको मुद्दा दर्ता गरि कारबाही पेश गर्न प्रहरी अपराध अनुसन्धान महाशाखामा पठाएको थियो ।


मृगेन्द्र घिमिरे लगायतका पदाधिकारिको सम्पत्ती तथा बैक खाता रोक्काको लागि नेपाल राष्ट्र बैंकबाट पत्रचार समेत भैसकेको थियो । दुईवटा सहकारीले २०७७ सालमा संयुक्त कारोवार सुरु गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update