TagaroNews
राजनैतिक खिचातानीले ‘भूत बंगला’ बन्यो जनजाती महासंघ लमजुङको भवन
भूत बंगला जस्तै देखिने आदिवासी जनजाती समन्वय परिषद लमजुङको भवन ।

बेसीशहर – यो भवन झट्ट हेर्दा भूत बंगला जस्तै देखिन्छ । दिउँसै तर्साउला जस्तो । वरपरी जंगलको बिचमा रहेको यो भवन कसैले अलपत्र पारेर छोडेको बेवारिसे घर जस्तो लाग्ला । तर, होइन । यो भवन नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद लमजुङको भवन हो । 

बेसीशहर नगरपालिका–७ क्याम्पस रोड मुनिपट्टि टिमुरबोटे जंगल (मरनघाट जाने बाटो)मा बनेको यो भवन, १३ बर्ष पूरानो भवन हो । २०६७ सालमा स्थानीयसँग ३ लाख रोपनीमा खरिद जग्गामा यो भवन बनाइएको रहेछ । 

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानबाट भवनका लागी विनियोजित २५ लाख र तत्कालिन जिल्ला विकास समितिबाट छुट्याइएको झण्डै १५ लाख रुपैँया बजेटबाट यो भवन निर्माण गरिएको तत्कालिन अध्यक्ष खेमजंग गुरुङले बताए ।

‘त्यो बेला दुःख गरेर जग्गा किन्ने, बजेट खोजेर भवन बनाउने सम्म काम गरियो, तर, राजनैतिक खिचातानिले गर्दा यो भवन प्रयोगमा नै आउन सकेन् ।’ तगारो न्युजसँग उनले भने, ‘अरु त, के भन्ने उदघाट्न समेत नभएको भवन, अहिले यो अवस्थामा पुग्ला भनेर सोचेको पनि थिइन् ।’

त्यो बेला स्व. धर्मराज श्रेष्ठको संयोजकत्वमा बनेको निर्माण समितिले यो भवन निर्माण गरेको रहेछ् । पछि थपिएका बजेटबाट भवनलाई तारबार लगाउने सम्मको काम भएको तत्कालिन समितिका पदाधिकारीहरु बताउँछन् । 

४० लाख बढी रमकबाट बनेको यो समन्वय परिषद लमजुङको भवनबारे अहिले न कसैलाई चासो छ् न चिन्ता नै । किनकि भवनको अवस्था हेर्दा नै यो बुझ्न सकिन्छ । 

भवनको भुँई तलामा रहेको पर्खाल भत्किन लागेको छ । भवनमा भएका झ्याल ढोका काम नलाग्ने स्थितिमा पुगेका छन् । झ्यालका सिसा र ढोका सबै फुटाइएका छन् । भवनको छत लेउ लागेर झार उर्मिएको छ । वरीपरि झाडीले भवन घेरेको छ । ढल्न लागेको बुढो रुख जस्तो बनेको यो भवनको अवस्थाले जनजाती अगुवाहरुलाई गिज्याइरहेको जस्तो देखिन्छ । 

झण्डै १० बर्षसम्म जनजाती महासंघ जिल्ला समन्वय परिषदको नेतृत्वमा रहेका खेमजंग गुरुङ राजनैतिक विवादका कारण नै भवन यो अवस्थामा पुगेको दावी गर्छन् । 

जिल्लामै दुइवटा अध्यक्ष
०७५ फागुनमा खेमजंग गुरूङ नेतृत्वको कार्यसमितिलाई पत्तोसमेत नदिएर केन्द्रीय प्रतिनिधिको ठाडो हस्तक्षेपमा हरिजंग तामाङलाई अध्यक्ष भएका थिए । यता खेमजंग गुरुङ नेतृत्वले भने, तेस्रो अधिवेशन गर्दै दुधकाशी तामाङलाई अध्यक्ष बनाएको थियो । यसै त विवादमा रहेको जनजाती महासंघ दुई–दुई वटा समिति बनेपछि झन् विवादमा लम्कियो ।

पछिल्लो समय दुधकाशी नेतृत्वको समिति निष्क्रिय जस्तै बन्यो । अर्का अध्यक्ष हरिजंग तामाङ नेतृत्वको समितिले भने, ०७६ फागुनमा जनजाती महोत्सव मनायो । तर, यो महोत्सवको हिसाबकिताब अझै सार्वजनिक गरिएको छैन् । गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उदघाट्न गरेका थिए । त्यस्तै हरिजंग तामाङ नेतृत्वकै समितिले आदिवासी जनजाती दिवस लगाएतका कार्यक्रम समेत गरेको छ । 

तर, दुईवटा समिति बनेपनि, यस अलपत्र भवनबारे कसैले चासो दिएनन् । एक अध्यक्ष हरिजंङ तामाङले अधिवेशन लगत्तै भवन र बाटो सरसफाई गरेजस्तो गरेर सामाजिक सञ्जालमा फोटो हालेपनि भवनको स्थिति हेर्दा त्यो देखावटी काम भन्ने प्रष्ट हुन्छ । 

राजनितिकरणकै कारण पछिल्लो समय परिषदका कुनै गतिविधि देखिदैन् । नेतृत्वमा रहेकाहरुले चासो नदिदा सरकारी बजेटबाट निर्माण गरिएको जनजाति परिषदको भवनको बजेट बालुवामा पानी जस्तै बन्न पुगेको छ । 

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद लमजुङको पहिलो अधिवेशनबाट क्या. रणबहादुर गुरुङ अध्यक्ष बनेका थिए । उनी संस्थापक अध्यक्ष हुन् । २०६७ सालमा दोस्रो अधिवेशनबाट खेमजंग गुरुङले नेतृत्व लिएका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update