TagaroNews
दोर्दी खोला हाइड्रोबाट १० करोडको बिजुली बिक्री 

लमजुङ - दोर्दी खोला करिडोरमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालयन पावर पार्टनर लिमिटेडले करिब १० करोड बरारबको बिजुली बेच्न सफल भएको छ । कम्पनीले आ.व. ०८०/८१ को ३ महिनाको अवधिमा सो रकमको बिजुली बिक्री गरेको जनाएको छ ।

सार्वजानिक वित्तीय विवरण अनुसार साउनदेखि असोजसम्म अवधिमा विद्युत् बिक्री गरी कम्पनीले ९ करोड ९६ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको हो । कम्पनीका अनुसार गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

विवरण अनुसार अहिले कम्पनी ९ करोड ४० लाख १५ हजार ६ सय रुपैयाँले घाटामा देखिएको छ । लमजुङमा निर्माण सम्पन्न गरेको आयोजनाले ०७९ साल असोज १४ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

कम्पनीले यस आयोजनाको काम करिब ५ वर्षमा सम्पन्न गरेको थियो । ०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले ०७५  भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेपनि नाकाबन्दी, प्राकृतिक प्रकोप, कोरोना लगाएतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न सकेन ।

पछि समय थपेर ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि उत्पादन मिति र लागत दुबै बढ्यो । प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण पूरा नगर्दा विद्युत उत्पादनमा समय लागेको थियो ।

आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिदै गएकाले अहिले करिब ५ अर्ब रुपैयाँमा पूरा भएको जनाइएको छ । आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

प्राधिकरण र सो कम्पनीबीच ०६९ असार १ गते पीपीए (विद्युत खरिद सम्झौता) भएको थियो । आयोजनाको अनुसार सुक्खायाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा विद्युत खरिद गर्ने सम्झौता भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update