TagaroNews
मनाङको ५० मेगाको दाना खोला हाइड्रोको पिपिए, ९ अर्ब ६८ करोड लगात अनुमान
पिपिएमा हस्ताक्षर गर्दै कार्यकारी निर्देशक घिसिङ र कम्पनीका अध्यक्ष डाँगी ।

मनाङ – हिमाली जिल्ला मनाङको नासो गाउँपालिकामा ९ अर्ब ६८ करोड रुपैँया लगानीमा ५० मेगावाटको दाना खोला जलविद्युत निर्माण थालिएको छ । 

४९.९५ मेगावाटको उक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौत (पिपिए) सम्पन्न गरिएको छ । आयोजनाको प्रवर्द्धक लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको हो ।

पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष मोहनकुमार डाँगीले हस्ताक्षर गरे । प्राधिकरणले आयोजनाको विद्युत् हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । 

अहिले आयोजनाको सिभिल संरचना अन्तर्गत आवास तथा पहुँचमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको लालुपाते हाइड्रो पावर कम्पनीले जनाएको छ । 

‘यतिबेला आयोजनास्थलको लागि विद्युतगृहसम्म जाने बाटो खनिसकेको छ, अध्यक्ष डाँगीले भने, ‘अहिले विद्युत्देखि इन्टेकसम्मको बाटो  खन्ने काम भइरहेको छ ।’ आयोजनाको काम निर्माण तालिका भन्दा ६ महिनाअगावै सम्पन्न गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।

आयोजनाबाट वार्षिक ३०२.२७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । साथै, यसको डिजाइन बहाव ६.०३ घनमिटर प्रतिसेकेण्ड र समग्र हेड ९९६.५० मिटर रहेको अध्ययनले देखाएको छ । 

विद्युत् उत्पादनका लागि दाना खोलाको पानी फर्काइ बनाइने बाँधको कूल लम्बाई १६.११ मिटर र उचाई ५ मिटर हुनेछ । अध्ययनअनुसार मुख्य सुरुङ ३२३९ मिटर हुने तथा विद्युत्गृह भूमिगत रहने छ ।

प्राधिकरणले आयोजनाका लागि विद्युत् उत्पादनको समय २०८४ कात्तिक २ गते तोकेको छ । आयोजनाबाट उत्पादित विद्युत २२० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङ जिल्लाको धारापानी सबस्टेसनमा जोडिने छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update