TagaroNews
लमजुङमा ड्राईभिङ तालिममा मनपरी, पहुँचवालाकै हालीमुहाली

बेसीशहर – समाजमा रहेका सीपबिहीन बेरोजगार, गरिब तथा विपन्न युवा लक्षित सीपमूलक ड्राइभिङ तालिम समय–समयमा सञ्चालन हुँदै आएको छ । तर, जुन उद्धेश्य र जुन लक्षीत समूहका लागी तालिम सञ्चालन गरिएको हुन्छ् त्यो समूहको पहुँच कमै मात्र पुग्ने गरेको छ । 

लमजुङमा सञ्चालन हुने यस्ता तालिममा जिल्लाका पहुँचवाला व्यापारी, जागिरे, कर्मचारीका आफन्त र सञ्चार संस्थामै आबद्ध भएकाहरुले हालीमुहाली गरेको भेटिएको छ । 

पर्यटन तथा उद्योग कार्यालय लमजुङबाट लक्षितवर्ग, समुदायबाट तालिमका लागि गत भदौमा सूचना माग गरिएकोमा बेसीशहरमा व्यवसायी, जागिरे, कर्मचारीका आफन्त र पहुँचमा रहेका सञ्चारकर्मीले हालीमुहाली गर्दै ड्राइभिङ तालिम लिएको तथ्याङ्क बाहिरिएको छ । 

८५ जनाको आवेदन परेपछि चरणवद्ध रुपमा २० जना प्रशिक्षार्थी र ३ जना वैकल्पिकमा छनौट गरिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङबाट जारी सूचनामा उल्लेख छ । तर, २० जना मध्यमा २ जना व्यवसायी, २ जना जागिरे र १ जना कर्मचारीका छोरा तनहुँका विद्यार्थी रहेको खुल्न आएको छ । 

गत असोज १७ गतेदेखि सुरु भएको तालिममा छनोट भइ सहभागी लमजुङको मर्स्याङ्दी गापा-८ का सन्तोष विश्वकर्मा बेसीशहरमै डेन्टल क्लिनिक सञ्चालक हुन् । अर्का प्रशिक्षार्थी ईश्वरराज सेढाईं कृषक जागरण सहकारी, लुम्बिनी इन्स्योरेन्स हुँदै अहिले प्रभु इन्स्योरेन्स बेसीशहर शाखा प्रमुख रहेका छन् । 

त्यस्तै जनक श्रेष्ठ राष्ट्रिय समाचार समितिका लमजुङका प्रतिनिधि एवं दोर्दी गाउँपालिकाका प्रेस सल्लाहकार हुन् भने, बेसीशहर नपा– २ का सुमन धिताल बेसीशहरका औषधी व्यवसायी हुन् ।

व्यास नपा–६ तनहुँ घर भएका प्रशिक्षार्थी विशाल गुरुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत् पहुँचवाला प्रहरीका छोरा भएको र बेसीशहरमा बसेर क्याम्पस पढ्दै आएको बुझिएको छ । यी बाहेकका अधिकांश अन्य प्रशिक्षार्थी पनि पहुँचकै आधारमा छनौटमा परेको देखिन्छ ।

वैकल्पिक प्रशिक्षार्थीको सूचिमा परेका क्व्होलासोथार गापा– १ का अमृत विकले आफु विकट ठाउँबाट आएको र विपन्न दलित परिवारको भएपनि आफु छनौटमा नपरेकोमा दुःखेसो पोखे । अन्य वैकल्पिक प्रशिक्षार्थीको गुनासो पनि यस्तै छ । 

जिल्लामा ८ स्थानीय तह भएपनि ९ जना प्रशिक्षार्थी बेसीशहर नगरपालिकाकै रहेका छन् । तिमध्ये धेरैजसो बजारमै घर भएर विभिन्न पेशा व्यवसाय गर्दै आएका छन् । सुन्दरबजार र मध्यनेपाल नगरपालिकाबाट भने सहभागिता शुन्य छ ।

गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमार्फत् चालु आव २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालय लमजुङमा सो तालिम कार्यक्रम पठाएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन् ।

प्रशिक्षार्थी छनौटका क्रममा कार्यालय प्रमुख थापा, जिल्ला प्रशासन कार्यालय, बेसीशहर नगर कार्यपालिका, लमजुङ उद्योग बाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघ जिल्ला समितिका प्रतिनिधि रहेको समितिले प्रशिक्षार्थी छनौट गरेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

यस अघिका बर्षहरुमा भएका ड्राईभिङ तालिममा पनि सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, पहुँचवाला व्यापारी, जनप्रतिधिका आफन्तहरुले नै तालिम लिने गरेको गुनासो हुँदै आएको थियो । यसरी लक्षीत वर्गमा आएको कार्यक्रममा पहुँचवालाकै हालिमुहाली हुँदा समेत नियमनकारी निकाय मुकदर्शक नै छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update