TagaroNews
ढाकाकुमारको ठाउँमा रास्वपाले बिन्दाबासिनीलाई सिफारिस गर्ने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो बाहिरिएपछि विवादमा तानिएका श्रेष्ठलाई रास्वपाको केन्द्रीय समिति बैठकले बुधबार कारबाही गरेको हो ।

अनुशासन तथा आचरण समितिको सिफारिस एवं पार्टीको विधानविपरीत काम गरेको देखिएकाले कारबाही गरिएको सभापति रवि लामिछानेले बताए । पार्टीबाट निष्कासन भएसँगै श्रेष्ठको सांसद पद पनि धरापमा परेको छ । उनी समानुपातिक सांसद हुन् । उनको पद रिक्त हुने भन्दै रास्वपाले नयाँ सांसदमा बिन्दाबासिनी कंसाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । कंसाकार एसिडपीडित हुन ।

तर, राजनीतिक दलसम्बन्धी ऐनमा दुई अवस्थामा मात्र सांसद पद जाने व्यवस्था छ । पार्टीको ह्वीप उल्लंघन गरेका र दल त्याग गरेका सांसदको मात्र सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णय र सिफारिसबाट पद रिक्त हुने व्यवस्था छ । अनुशासनमा कारबाही गर्ने रास्वपाको निर्णयलाई सांसद श्रेष्ठले कानुनी रूपमा अदालतमा चुनौती दिन भने सक्नेछन ।

यता सांसद श्रेष्ठले न्यायालयबाट क्लिन चिट लिएर आउने दाबी गरेका छन । आफ्नो कारणले गर्दा उपनिर्वाचनमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै उनले क्षमा पनि मागेका छन । ‘म न्यायालयबाट क्लिन चिट ल्याई तपाईंहरूमाझ फेरि प्रेसमिट गर्नेछु, मेरा कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको छ, त्यसका लागि क्षमाप्रार्थी छु,’ उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update