TagaroNews
तिहारमा पोखरा–मुग्लिन सडक विस्तार कार्य नरोकिने, समयमै सक्ने लक्ष्य

पोखरा - नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडक विस्तार कार्य निरन्तर चल्ने भएको छ ।

आयोजनाको निर्माण कार्य निर्धारित समयमा नै सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तार कार्य भैरहेको मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलले बताए । 

‘दुई चरणमा गरी सडक विस्तार भइरहेको छ । लक्ष्यअनुसार प्रगति नभएकाले तिहारमा समेत काम गरिरहेका छौँ । उनले भने, ‘यस खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको करिब ३९ किमि विस्तारको प्रगति जम्मा १२ प्रतिशत छ । त्यसैले बिदामा समेत काम तीव्र पारेका छौँ ।’

पश्चिम खण्ड विस्तारका लागि २०७८ जेठमा सम्झौता भएको हो । यो खण्डको काम ०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने छ । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।

यस खण्डमा एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउने काम भइरहेको छ । पश्चिम खण्डको लागत रु. सात अर्ब ४० करोड ४६ लाख छ । 

यता ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको पूर्वी खण्ड विस्तार कार्य पनि तीव्र रुपमा अघि बढेको छ । यस खण्डमा पनि तिहार बिदाको समयमा काम भैरहेको पूर्वी खण्डका प्रमुख श्याम यादवले बताए । 

‘सडक विस्तार कार्य तीव्र पारिरहेका छौँ, यतिवेला सडक फराकिलो बनाउने, भित्ता खार्ने, खाडल पुर्ने, पक्की पुल र कल्भर्ट निर्माण गर्नेलगायत काम भइरहेका छन् ।’ उनले भने, ‘यस खण्डमा ३६ प्रतिशत निर्माण कार्य सम्पन्न गरेका छौँ । तिव्र रुपले काम भएकाले समयमै सक्ने लक्ष्य छ ।’

यस पूर्वी खण्ड विस्तारका लागि ०७८ वैशाखदेखि काम सुरु भएको हो । यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । 

यस खण्डको काम ०८१ वैशाखसम्म सम्पन्न गर्नुपर्ने छ । पूर्वी खण्डको लागत रु ६ अर्ब २१ करोड ३१ लाख रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update