TagaroNews
मनाङ नासों गाउँपालिकामा अस्पताल बन्ने, गुरुङले दिए निःशुल्क जग्गा

मनाङ – हिमाली जिल्ला मनाङको तल्लो भेगमा रहेको नासों गाउँपालिकामा अस्पताल निर्माण गर्न जग्गा प्राप्त भएको छ । पालिकामा अस्पताल निर्माण गर्न पालिका अध्यक्ष धनबहादुर गुरुङको विशेष पहलमा स्थानीय डा. देवीजंग गुरुङले जग्गा दान गरेका छन् । 

नासों गापा– ५ थोंचे स्थित उक्त जग्गा हिमालयन फ्यामिली हेल्थकेयर प्रोजेक्जको नाममा रहेको थियो । ६ रोपनी ११ आना मध्ये ५ रोपनी जग्गा पालिकालाई निःशुल्क दान गरेको प्रोजेक्टका संस्थापक तथा कार्यकारी निर्देशक समेत रहेका गुरुङले बताए । 

मनाङमा जन्मिएर अमेरिका बस्दै आएका उनले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार ७५ लाख हाराहारी पर्ने गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बताए । 

उनले भने, ‘पालिकामा ५ शैयाको अस्पताल निर्माण गर्ने क्रममा छौँ, तर जग्गा अभावका कारण अस्पताल बनाउन सकिरहेका थिएनौँ । अहिले जग्गा प्राप्त भयो । अब छिट्टै डीपिआर गरेर काम अघि बढ्नेछ् ।’

प्रोजेक्टका संस्थापक तथा कार्यकारी निर्देशक गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मेल खाने गरि पालिकाले काम गर्न लागेकोले नै जग्गा उपलब्ध गराएको बताए । 

उनले भने, ‘हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेर राखेका थियौं । अहिले पालिकाले पनि अस्पताल बनाउन लागेको छ । फरक–फरक अस्पताल बनाउनु भन्दा एकीकृत रुपमा बनाए राम्रो हुन्छ् भनेर नै  जग्गा उपलब्ध गराएका हौँ ।’

स्वास्थ्यको दृष्टिकोणले अति संवेदनशिल मनाङमा नासों गाउँपालिका क्षेत्रमा अस्पताल बन्ने कुराले स्थानीय हर्षित छन् । पर्याप्त दक्ष स्वास्थ्यकर्मी र अस्पताल नहुँदा पालिकाका स्थानीयले स्वास्थ्य सेवा मुस्किलले पाउँदै आएका छन् ।

अस्पताल निर्माण भए सामान्य बाहेकका सेवा लिन जिल्ला बाहिर नै दौड्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयको विश्वास छ । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update