TagaroNews
२४ पिर्के रोटेपिङ खेल्न जाने होइन त ?

मध्यनेपाल – चाडपर्वमा पिङ खेलेर धर्ति छोड्नुपर्छ भन्ने पुरानो किंवदन्ती नै छ । चाडपर्वसँगै गाउँ फकर्ने, समूहमा यूवाहरु मिलेर लिङ्गे र रोटेपिङ हाल्ने चलन बिस्तारै हराइसक्यो । यूवाशक्ति विदेश पलायन हुँदा आजभोली ४ पिर्के रोटेपिङ समेत कमै मात्रामा देख्न पाइन्छ । तर, लमजुङमा भने, यूवाहरुकै सक्रियतामा २४ पिर्के रोटेपिङ निर्माण गरिएको छ । 

लमजुङ मध्यनेपाल नगरपालिका–१० हाडीखोला बर्धानका यूवाहरुले यसपालि २४ पिर्के रोटेपिङ निर्माण गरेका छन् । बाउबाजेको पुरानो अनुभवका आधारमा संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले २४ पिर्के रोटेपिङ निर्माण गरेको स्थानीय यूवा धर्मराज दुराले बताए । 

उनले भने, ‘हामीले विगतमा ४ पिर्के रोटेपिङ हाल्दै आएको हो, पछि ८ पिर्के रोटेपिङ हाल्यौँ, अहिले भने, बाउबाजेले थाहा पाएको पुरानो अनुभवलाई आधार बनाएर यो २४ पिर्के रोटेपिङ हाल्न सफल भयौँ ।’

बुधबार मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले विधिवत रुपमा २४ पिर्के रोटेपिङको उदघाटन गरे । २४ पिर्के रोटेपिङ हेर्ने र खेल्नेको घुईँचो बढ्न थालेको छ । ८ पिर्के रोटेपिङ हाल्दै आएका यहाँका यूवाहरुले यो बर्ष २४ पिर्के रोटेपिङ बनाएर उदाहरण देखाएका हुन् । 

पिङ खेल्न बालबालिका देखि, यूवा र पाका पुस्ता सबै पुगेका छन् । संस्कृतिको इतिहास झल्किने यो पिङको संरक्षणमा जुट्ने मध्यनेपाल नगरपालिका–१० का वडा अध्यक्ष रामचन्द्र भण्डारीले बताए । यस २४ पिर्के रोटेपिङलाई व्यवसायीक रुपमा समेत अघि सार्ने योजना रहेको उनले सुनाए ।

निकै आकर्षित देखिने यो २४ पिर्के रोटेपिङ यतिबेला जिल्लाकै एक मात्र पिङ हो । पिङमा २ वा ४ जनाले हल्लाएर खेलाउन सकिन्छ । पिर्का, वाया, डाँडीहरु निकै मेहनतका साथ बनाइएको छ । झण्डै साढे २ लाख लागतमा यूवाहरुले यो रोटेपिङ निर्माण गरेका हुन् । 

यो पूस्ताले निर्माण गरेको यो पिङ देख्दा बुडा पुस्ताहरु समेत दंग छन् । आफ्नो सपना समेत रहेको यो कार्य पूरा भएको २४ पिर्के रोटेपिङ निर्माण समितिका अध्यक्ष हस्त बहादुर दुराले बताए । यूवाहरु जुटे इतिहा उल्ट्याउन सकिने उनको बुझाई छ ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update