TagaroNews
जाजरकोट भूकम्पः १५७ को मृत्यु, २०८ घाइते

काठमाडौं शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी शनिबार रातिसम्म कम्तीमा १ सय ५७ जनाको मृत्यु भएको छ ।

उक्त भूकम्पबाट ७ जिल्ला प्रभावित भए पनि मृत्यु हुनेमा जाजरकोट र रुकुम पश्चिमका छन् । सबैभन्दा बढी जनधनको क्षति हुनेमा रुकुम पश्चिमको आठबिसकोट नपा ११, १२, १३ र १४ वडा तथा सानो भेरी नपा २, ३ र ४ वडा छन् । यस्तै जाजरकोटको नलगाड नपा–१ र भेरी नपा १, ३ र ४ वडामा भूकम्पले बढी क्षति पुर्याएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी शनिबार रातिसम्म जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ । जाजरकोटमा १ सय ६ र रुकुम पश्चिममा ८६ जनाभन्दा बढी घाइते भएका छन् । यसबाहेक दैलेख, जुम्ला, प्यूठान र बैतडीमा ३/३ गरी १२, सल्यानमा २, रोल्पा र दाङमा १/१ जना घाइते भएका छन् ।

गएको भूकम्पमा परी रुकुम पश्चिम र जाजरकोटमा ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने भएको छ । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत खर्च गर्ने गरी रुकुम पश्चिम र जाजरकोटलाई ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो । 

मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, अस्थायी आवास र खाद्यान्न व्यवस्थापनका लागि उक्त रकम खर्च हुने बताइएको छ । खोज, उद्धार र राहतसम्बन्धी थप निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाट गर्ने सरकारको तयारी छ । 

सरकारले भूकम्पमा परी घाइते हुनेको निःशुल्क उपचारको व्यवस्था पनि मिलाएको छ । भूकम्पले घर भत्किएकाको हकमा अस्थायी आवासका लागि सरकारले तत्काललाई प्रतिपरिवार ५० हजार रुपैयाँसम्म रकम उपलब्ध गराउने तयारी गरेको छ ।

यसका लागि ‘विपद्पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७’ अनुसार आवश्यक प्रबन्ध मिलाइएको छ । उक्त मापदण्ड अनुसार प्रतिमृतक २ लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति १ लाखका दरले हकदारले थप रकम पाउने छन् ।

सरकारबाट दिइने आर्थिक सहयोग एकद्वार प्रणालीबाट गरिने छ । भूकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न सरकारले विनाशकारी भूकम्प–२०७२ मा दिइएको सहयोग अनुसार प्रतिपरिवार ३ लाख रुपैयाँ दिइनेछ । 

मापदण्डअनुसार भूकम्प प्रभावित ५ जनासम्मको परिवारलाई १५ लाख, त्यसभन्दा बढीको हकमा थप २० हजार रुपैयाँ सरकारले नै दिनेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update