TagaroNews
भूकम्प अपडेटः रुकुम पश्चिममा १४ जनाको मृत्यु

सुर्खेत - शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा १४ जनाको मृत्यु भएको छ ।  रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईका अनुसार आठबिसकोट नपा– ११ मा ७ जना, वडा नं १२ मा ४ जना र वडा नं १३ मा ३ जनासहित १४ जनाको मृत्यु भएको हो  ।

‘ठुलो मानवीय क्षति भएको छ,’ उनले भने, ‘घाइतेहरूको उद्धार गर्ने, अस्पताल लैजाने काम भइरहेको छ ।’ भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् । ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर सो भूकम्प गएको थियो । 

प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार आठबिसकोट नगरपालिकामा धेरै मानवीय क्षति भएको छ । थुप्रै घाइतेहरूलाई अस्पतालमा लाने काम भइरहेको छ उनले बताए ।

भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरूमा घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हालसम्म कम्ती १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन् । ‘हामी घटनास्थलमै छौँ, यहाँ नेटवर्कले काम गरिरहेको छैन,’ उनले भने,‘सयौँ घरहरूमा क्षति भएको छ ।’ 

जाजरकोटका डीएसपी सन्तोष रोकाले सदरमुकाम खलङ्गामै पनि ठुलो मात्रामा घरहरू क्षति भइरहेको बताए । त्यहाँ अहिले प्रहरी उद्धारमा खटिएको छ । स्थानीयहरूले उद्धारका लागि सामाजिक सञ्जालमा आह्वानसमेत गरेका छन् । प्रहरीले भूकम्पबाट घर भत्केर सयौँ मानिसहरू घाइते भएको अनुमान गरेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update