
लमजुङ – लमजुङमा जलविद्युत् आयोजनाहरू निर्माण तथा सञ्चालन गरिरहेका ३ जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्दै छन् । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।
भदौ २२ गतेदेखि असोज २२ गतेसम्मको अवधिमा ३ जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
बोर्डका अनुसार आवेदन दिएका कम्पनीहरूमा छयाङ्दी हाइड्रो पावर लिमिटेड, लिवर्टी इनर्जी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड रहेका छन् ।
आवेदन दिएका कम्पनीहरू
लिवर्टी इनर्जी कम्पनी लिमिटेड
लमजुङ जिल्लामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको यस कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि असोज २१ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशत अर्थात् ७५ करोड रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो ।
कम्पनीले १ः०.५ का अनुपातमा सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
ङादी ग्रुप पावर लिमिटेड
लमजुङ जिल्लाको सिउरी खोलामा ४.४५ मेगावाटको सिउरी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको यस कम्पनीले पनि हकप्रद सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिको माग गर्दै भदौ २१ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १ बारबर १ को अनुपातमा सय रुपैयाँ अंकितका दरले १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीका अनुसार बोर्डबाट स्वीकृति पाएलगत्तै आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँट गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँट गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
छयाङ्दी हाइड्रो पावर कम्पनी लिमिटेड
यस कम्पनीले पनि आफ्ना सेयरधनी सदस्यका लागि सेयर निष्कासन अनुमतिका लागि जेठ २२ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकितका दरले ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो ।
कम्पनीले बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले लमजुङमा ६ मेगावाटको २ आयोजना सञ्चालनमा छन् । ४ मेगावाटको माथिल्लो छयाङ्दीले गत मंसिर २४ गतेदेखि र २ मेगावाटको छयाङ्दी खोला सानाले लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ ।