TagaroNews
नेपाल फाइनलमा, यू–१९ एसिया कप खेल्ने पक्का

काठमाडौँ - जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपको छनोटका रुपमा रहेको यू–१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।

खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए । त्यसअघि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए ।

भारी वर्षापछि नेपालले थप ब्याटिङ गर्न पाएन । र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो ।

तर, नेपाली बलरले घातक बलिङ गरेपछि जापानले ४३ रन मात्र बनाउन सक्यो । ११.४ ओभरमा सुवास भण्डारीले यामामोतोको विकेट लिएपछि जापानका रतविक शिवकुमार ब्याटिङमा आएका थिए । एक बल सामना गरेका उनले ब्याटिङलाई निरन्तरता दिन सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन÷तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update