
गोरखा - गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ बजेको साइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।
फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उनले बताए ।
गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । दरबारस्थित दसैँघरबाट बाजागाजासहित ¥याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए । रासस