TagaroNews
लमजुङ अस्पताल विकास समिति अवैध 
लमजुङ अस्पताल लमजुङ । तस्विर: तगारोन्यूज ।

लमजुङ - लमजुङ अस्पताल विकास समिति नै अवैध रहेको खुलेको छ । गण्डकी प्रदेश सरकारद्धारा प्रकाशित प्रदेश राजपत्रमा जिल्ला समन्वय समिति प्रमुख स्वतः जिल्ला अस्पताल विकास समिति अध्यक्ष हुने उल्लेख गरेको छ ।

तर, लमजुङ अस्पताल भने, राजनैतिक भागवण्डाको आडमा चुनिएको समितिले नै चलाईरहेको छ । ०७९ भाद्र महिनामा अस्पतालको विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता हरिजङ तामाङ नियुक्ति भएका थिए ।  त्यस्तै सदस्यमा मोहन थापा र वसन्त बहादुर थापा राजनैतिक भागवण्डाका आधारमा नियुक्त भए । 

तत्कालिन माओवादी नेतृ मधु अधिकारी गुरुङ स्वास्थ्यमन्त्री रहेको बेला राजनैतिक आडमा यो समिति गठन भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले लमजुङ बेसीशहरमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका उनीहरुलाई नियुक्ति पत्र प्रदान गरेको थियो ।

लमजुङ अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय सँगै अस्पताल व्यवस्थापन गरिरहेको मानव विकास सामुदायिक सेवा केन्द्र (एचडीसीएस) लाई अस्पताल व्यवस्थापनबाट  हुत्ताएर राजनितिक आडमा नै यो समिति गठन भएको हो ।

यता प्रदेश सरकारको ०८० बैशाख ७ गते प्रकाशित (खण्ड ०६, अरि ०१ मा प्रकाशित) प्रदेश राजपत्र (भाग २) मा भने, प्रदेश सरकार अन्तर्गतका अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न जिल्ला समन्वय समिति प्रमुख अध्यक्ष रहने, अस्पताल रहेको सम्बन्धीत स्थानीय तहका प्रमुख सदस्य र प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी सदस्य रहने उल्लेख छ ।

यस्तै प्रमुख कोष तथा लेखा नियन्त्रक (प्रदेश लेखा नियन्त्रक) सदस्य, अस्पताल रहेको क्षेत्रको उद्योग वाणिज्य संघको अध्यक्ष सदस्य, सम्बन्धीत जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरु मध्ये समितिले मनोनयन गरेको स्नातक उपाधी प्राप्त एक जना सदस्य र अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट सदस्य सचिव रहने उल्लेख छ ।

राजपत्रको (खण्ड २ उपदफा १ ) को (च) बमोजिम मनोनित सदस्यहरुको पदावधि दुई बर्षको हुने र (खण्ड ३ उपदफा १) बमोजिम पदाधिकारीहरुलाई मन्त्रालयले नियुक्ति पत्र दिने उल्लेख छ । 

गण्डकी प्रदेश सरकारबाट प्रकाशित प्रदेश राजपत्रको अंश ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनैतिक भागवण्डामा समिति चल्नु र प्रदेश सरकारबाट प्रकाशित राजपत्र अंकित अधिकारबारे कोहि चुइक्क नबोल्नुले सम्बन्धीत निकाय नै अनविज्ञ, मौन र गैरजिम्मेवार पूर्ण रहेको भान भएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update