TagaroNews
जलवायु संरक्षणका लागि मुस्ताङमा ५० करोड पठाउने प्रधानमन्त्रीको घोषणा 

मुस्ताङ - हिमाली जिल्ला मुस्ताङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड मुस्ताङमा पठाउने घोषणा गरेका छन् । 

बुधबार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । 

उनले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको समेत औल्याए । उनले भने, ‘पछिल्लो समय मुलुकले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्र सँगै मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने र देख्ने अवसर प्राप्त गरे । मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।’

उनले थपे, ‘मुस्ताङ जिल्ला बहुआयामिक विशेषता बोकेको जिल्ला हो । यो जिल्ला धार्मिक र कृषि पर्यटकको दृष्टिले महत्वपूर्ण छ । साथै कोरला नाकाको विशेष रणनीतिक महत्व रहेकाले पनि यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ ।’

हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित नरहने उउनले बताए ।जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा भएको भन्दै उनले मुस्ताङको जलवायु संरक्षणको सरकारको प्राथमिकतामा रहेको पनि सुनाए । 

कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राखिने र विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update