
गोरखा - यसपालि नेपाली सेनामा कार्यरत खोटाङका गजेन्द्र राई लिगलिगे राजा बन्न सफल भएका छन् । बुधबार पालुङटारमा आयोजित लिगलिगे दौडमा ६९ जनालाई पछि पार्दै उनी ११ औं लिगलिगे राजा बन्न सफल भएका हुन् ।
उनले चेपेघाटदेखि लिगलिगकोट सम्मको १३ दशमलव ५ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेण्डमा पार गरे । उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेका छन् । निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बने ।
यस्तै यसअघिका विजेता अनिस थापा यसपटक तेस्रो बने । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरे । उनी भारतीय सेनामा कार्यरत छन् ।
दसैंका बेला दौड जितेर लिगलिगको राजा बन्ने परम्परा कायम राख्न लिगलिग विकास अभियानले विगत १५ वर्षदेखि लिगलिगे दौडको आयोजना गर्दै आएको छ । कोभिडका कारण विगत तीन वर्ष हुन नसकेको दौडले यस वर्ष निरन्तरता पाएको हो ।
उपाधि विजेता राईलाई लिगलिगे राजा घोषणा सँगै एक लाख नगद पुरस्कारसहित श्रीपेच, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक लिगलिग विकास अभियानका अध्यक्ष संजिव राना मगरले बताए ।
दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । दौडमा २१ जना स्थानीय धावकसहित कुल ७० जनाको सहभागीता थियो ।
गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।
नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो ।